संसद भवन बनाउन चासो देऊ



संसदको आफ्नै भवन बनाउने चर्चा बर्षौदेखि चल्ने गर्छ, तर भवन बनाउने तयारी अहिलेसम्म अघि बढेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकाल सम्हालेकै दिन गत फागुन पहिलो संसदको आफ्नै भवन आगामी २ वर्षमा बन्ने बताए पनि, त्यसको गृह कार्य जुन ढंगले अघि बढ्नु पर्ने हो, त्यस्तो हुन सकेको छैन । तर संसद भवन बन्ने प्रकृया अघि बढेको मन्त्री र सभामुख कृष्ण बहादुर महराको दावी छ । सिंहदरवारस्थित पुरानै संसद भवन भएकै ठाउँमा नयाँ भवन बन्ने प्रकृया अघि बढेको उहाँहरूका भनाइ छ ।

भवन निर्माणका लागि आर्थिक वर्ष २०७५/७६को बजेट विनियोजन भएकाले प्रकृया अघि बढेको सरकारको दावी छ । सिंहदरवारको भवन पुरानो र मर्मत संभार अभावमा जिर्ण बनेपछि संसद बैठक १० वर्षभन्दा अघिदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट सञ्चालन हुँदै आएको छ ।

संसद भवनमा रुपान्तरण हुनुअघि सो केन्द्रमा विभिन्न साँस्कृतिक कार्यक्रम, विविध गतिविधी हुँदै आएका थिए । केन्द्र अर्कै प्रयोजनमा सञ्चालन हुन थालेपछि राजधानीमा साँस्कृतिक र अन्य कार्यक्रम आयोजना गर्ने फराकिलो भवनको अभाव भएको छ भने संसदले पनि बार्षिक रुपमा ठूलो रकम भाडा तिर्दै आएको छ ।

बार्षिक साढे १० करोड रुपियाँ भाडा तिर्दै आएको संसद सचिवालयले आगामी साउनबाट बार्षिक १५ करोड रुपियाँ भाडा बुझाउनुपर्ने भएको छ । यो खर्च विजुली, पानी र अन्य दैनिक खर्च बाहेकको भएको सचिवालयले जनाएको छ । सिंहदरवारको पुरानो संसद भवन ३ वर्षअघिको महाभूकम्पले क्षति पु¥याएको छ ।

रेट्रोफिट गर्दा पनि सो भवन पुन प्रयोगमा ल्याउन नसकिने विज्ञहरुले सुझाव दिएका छन् । सिंहदरवार निर्माण र मर्मतको जिम्मेवारी पाएको सिंहदवार सचिवालय पुनर्निमाण समितिले सुविधा सम्पन्न नयाँ भवनको गुरुयोजना बनाइएको बताएको छ । गुरुयोजना अनुसारकै संसद भवन बनाइएको अवस्थामा समग्र सिंहदरवारकै स्वरुप बदलिन सक्ने समितिका अधिकारी बताउँछन् । सूचना प्रविधी मैत्री संसदको मुख्य भवन, त्यस्तै सुविधासहित हरेक दलका संसदीय कार्यालय, अध्याधुनिक पुस्तकालय, अन्डरग्राउन्ड पार्किङ जस्ता पक्ष गुरुयोजनामा समेटिएको छ ।

गुरुयोजनालाई मूर्त रुप दिन सरकारको इच्छा शक्तिको खाँचो रहन्छ । संसदको आफ्नै भवन हुँदा बार्षिक रुपमा ठूलो रकम भाडाका रुपमा तिर्नु पर्दैन, त्यस्तो ठूलो रकम अन्यत्र खर्च गर्न सकिन्छ । त्यसैले भवनका लागि बजेट विनियोजन भइसकेको अवस्थामा योजना अघि बढाइनुपर्छ, योजना बनाउने र थन्क्याउने अनि फेरी नयाँ योजना बनाउने शैली दोहोरिनु हुँदैन । दात्तृ मुलुकहरुले संसद भवन बनाउन चासो दिइरहेका बेला सरकारले आफ्नै बजेट र नेपाली मौलिक पन झल्काउने भवन बनाउने पहल अघि बढाउन ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्