जलमग्न भक्तपुरप्रति संवेदनशीलताको खाँचो



रातभरिको अविरल वर्षाले बिहीबार भक्तपुरका विभिन्न स्थान जलमग्न हुन पुगे । पर्याप्तरूपमा पानीको निकास नहुँदा र बाढीका कारण हनुमन्ते खोलाको पानीको बहाव बढ्दा भक्तपुरको नयाँ ठिमी, राधेराधे, सल्लाघारी, सिर्जनानगर, जगातीलगायतका स्थान डुबानमा परे । घरको तल्लो तला पानीले डुबेकाले कतिपयले छानामा गएर ज्यान बचाएका थिए ।

डुबान परेका बस्तीका घरबाट बाढीपीडितहरूलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न उद्धारकर्मीले डुंगा र क्रेनसमेत प्रयोग गर्नुपरेको थियो । बिहीबार बिहानै डुबान क्षेत्रको बाटो भएर स्कुल–कलेज जान हिँडेका विद्यार्थी र गन्तव्यतर्फ लागेका अन्य यात्रुहरूसमेत अलपत्र परेका थिए । अस्पताल, स्कुल, सुपरमार्केटलगायत बस्तीभित्रका पसलहरू डुबानमा परेकाले आवश्यक औषधि, लत्ताकपडा, खाद्यान्नसमेत नष्ट हुँदा पीडितहरू झनै समस्यामा परेका थिए । अरनिको राजमार्गसहित भित्री सडकहरू अवरुद्ध हुँदा उद्धार कार्यमा पनि कठिनाइ हुन पुगेको थियो ।

हनुमन्ते खोलामा बाढी आएर आसपासका बासिन्दा त्रसित भएको अहिले मात्र होइन, तर अरनिको राजमार्गमाथि नै पानीको बहाव आइपुगेको भने शायद पहिलो नै हुन सक्छ । यसले के देखाउँछ भने, पानीको निकास अवरुद्ध हुने क्रम बढिरहेको छ । आगामी वर्षहरूमा झनै समस्या बढ्न सक्ने हुँदा अहिलेदेखि नै सो क्षेत्रमा सरकार गम्भीर हुनुपर्ने देखिन्छ ।

खोला साँघुरिँदै जानु अर्थात् व्यवस्थित हुन नसक्नु, खोलाको बहाव छेकबार नहुनु, यहाँबाट बालुवा निकाल्ने कार्य नियन्त्रण हुन नसक्नु, खोलाको जग्गा अतिक्रमण हुनु बस्तीतिर बाढी पस्नुका कारण भएको स्थानीयको भनाइ छ । नगरपालिकासहित सम्बन्धित निकायका कमी–कमजोरी पनि रहेका छन् । नगरपालिकाले होचा स्थान अर्थात् डोलक्षेत्रमा घर बनाउन रोक लागाए पनि विनानक्सापास र विनाअनुमति घर बनाउनेको संख्या बढ्दो छ । यस्ता स्थान डुबानमा पर्न सक्ने हुँदा नगरपालिकाले ढल निकासलगायतका पूर्वाधार तयार नभएसम्म घर बनाउन पूर्ण बन्देज लगाउनुपर्छ ।

पछिल्लो समय भूमाफियाहरूले आफूखुशी जग्गा प्लटिङ गरी विनाइन्जिनियरिङ डोजर लगाएर भूमिको स्लोब नै परिवर्तन गर्ने गरेकाले पनि समस्या सृजना भएको छ । प्राकृतिक धरातल खलबल्याएर जग्गामा छेकबार गरी परम्परादेखि रहिआएको पानीको निकास अवरुद्ध गर्ने वा साँघुरो पार्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ ।

राम्रोसँग पानीको निकास नभएका स्थानमा स्थानीयसँग सहकार्य गरेर सरकारी निकायले नै पानीको निकासका लागि पहल गर्नुपर्छ । गतिलो मापदण्ड बनाएर पानी निकासलाई व्यवस्थित गर्न जरुरी भइसकेको छ । राजधानी उपत्यकामा, त्यो पनि अरनिको हाई वेभन्दा माथि पानीको बहाव हाइपुग्ने गरी निकास अवरुद्ध हुनु भनेको संवेदनशील विषय हो । यस विषयमा सरकार चनाखो हुनै पर्छ । अहिलेदेखि नै यस्ता डुबान क्षेत्रको पहिचान गरी दीर्घकालीन योजना बनाउनुपर्छ । तत्कालका लागि भने भक्तपुरलगायत मुलुकका बाढीपहिरोपीडितको उद्धार गरी उनीहरूका लागि राहतको व्यवस्था गर्नु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्