संसदीय सुनुवाई समिति गठन


काठमाडौं, (नेस) । प्रतिनिधिसभाको सोमबारको बैठकले संसदीय सुनुवाई समिति गठन गरेको छ । सभामुख कृष्णबहादुर महराले समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्तुत गर्नुभएको प्रस्तावलाई सदनले सहमती दिएको थियो ।

समितिमा अमृता थापा (नेकपा), निरुदेवी पाल (नेकपा), पार्वत गुरुङ (नेकपा), पूर्णाकुमारी सुवेदी (नेकपा), योगेशकुमार भट्टराई (नेकपा), शिवकुमार मण्डल केवट (नेकपा), सुरेन्द्रप्रसाद पाण्डे (नेकपा), पुष्पा भुषाल गौतम (नेका), ज्ञानेन्द्रबहादुर कार्की (नेका), भिमसेनदास प्रधान (नेका) लक्ष्मणलाल कर्ण (राजपा) तथा राजेन्द्र प्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम) रहेका छन् । राष्ट्रिय सभाले सांसद् सुमनराज प्याकुरेल (नेकपा), नन्दा चपाइँ (नेकपा) र जितेन्द्र नारायण देव (नेका) लाई समितिमा पठाएको छ ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली समितिको प्रतिवेदन, २०७५ को परिच्छेद ५ मा समितिसम्वन्धी व्यवस्था गरेको छ । संविधानको धारा २९२ मा संसदीय सुनुवाई सम्वन्धी व्यवस्था छ । संविधानमा नै १५ सदस्यीय समिति रहने उल्लेख छ ।

संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाई प्रचलन रही आएको छ ।

प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।