व्यापार युद्धले अर्थतन्त्रमा धक्का



विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिका व्यापार युद्धमा उत्रिएपछि यसको प्रभाव विश्वभर पर्ने भए पनि दुई मुलुक भने प्रतिष्ठाको लडाइँमा उत्रिएका छन् । यसले विश्वलाई प्रभावित पार्ने भएपछि युरोप, एसिया र अफ्रिकामा अहिले चीन–अमेरिकाबीच शुरु भएको व्यापार युद्धको बारेमा बहस तीव्र हुन थालेको छ ।

अमेरिकाले चीनबाट आउने सामानमा व्यापक भन्सार शुल्क लगाउने फैसला गरेपछि चीनले पनि अमेरिकाको सिको गर्दै अमेरिकाबाट आयातीत सामानमा भन्सार मूल्यमा वृद्धि गरेको छ । अमेरिकाको विभिन्न नाकाबाट भित्रिएका ३४ अर्ब डलरको चिनियाँ सामान आयातमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएपछि अमेरिकी बजारमा चिनियाँ सामान अत्यधिक महँगो हुन पुग्यो ।

यसले गर्दा सामान बिक्रीमा समेत गिरावट आएको समाचार सार्वजनिक भएको छ । दुवै देशका उच्च नेताका लागि यो प्रतिष्ठाको विषय भए पनि ती दुई देशका जनता मात्र होइन, संसारभरका जनता यो लडाइँबाट प्रभावित हुने भएका छन् ।

अमेरिकाले ३४ अर्ब अमेरिकी डलरबराबर सामानमा अतिरिक्त शुल्क लगाएको केही घन्टापछि नै चीनले पनि अमेरिकाबाट आयात हुने ५ सय ४५ वटा विभिन्न सामानमा भन्सार शुल्क बढाएको घोषणा गर्नुले दुवै देश व्यापार युद्धमा आम्नेसाम्ने भएका छन् ।

यस प्रतिष्ठाको लडाइँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सिजिन पिङलाई त व्यक्तिगतरुपमा केही फाइदा होला तर यसले विश्वबजारमा पार्ने प्रभावका बारेमा दुवै देशका नेतृत्वले सोच्नै पर्ने अवस्था सिर्जना भएको छ ।

चीनबाट अमेरिका निर्यात हँुदै आएको चीनमा बनेको सेमिकन्डक्टर चिप पनि परेको छ । यो चिप टेलिभिजन, कम्प्युटर, स्मार्टफोन, गाडी र दैनिक प्रयोग हुने विद्युतीय उपभोग्य सामानहरुमा प्रयोग हुने गर्छ । त्यसै गरी अमेरिकाले प्लास्टिक, परमाणु रिएक्टर र डायरीका सामान बनाउने मेसिनहरुमा पनि अतिरिक्त शुल्क लगाएको छ । अमेरिकामा चीनबाट आयात गरी निर्माण गरिएका ती सामान विश्वबजारमा समेत जाने भएकाले यसको असर विश्वभरका उपभोक्तामा प्रत्यक्षरुपमा पर्ने भएको छ ।

चीनले ५ सय ४५ अमेरिकी उत्पादनहरुमा अतिरिक्त भन्सार शुल्क बढाएको र ती अतिरिक्त शुल्क लगाइएका वस्तुहरुमा ९१ प्रतिशत उत्पादनको सम्बन्ध कृषिजन्य उत्पादसँग जोडिएको छ । चीनले सीधै किसान र कृषिसँग जोडिएका उद्यमीमाथि आक्रमणको निशाना बनाएको छ । अमेरिकामा यो समूह अमेरिकी राष्ट्रपति चुनावमा भोटबैंकको महत्वपूर्ण हिस्सा मानिन्छ । विश्वको अर्थतन्त्रलाई नै धक्का दिने गरी दुवै देशले शुरु गरेको व्यापार युद्धले अर्को विकराल अवस्था सिर्जना नगर्ला भन्न सकिन्न । यसतर्फ दुवै देशलाई दबाब दिन संसारभरका अन्य देशले कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्