छिरिङमा बोल–बोल पाखाहरूको रिमिक्स

0
Shares

गायक तथा यशकुमारले आफ्नो पछिल्लो फिल्म छिरिङको गीत सार्वजनिक गरेका छन्। २५ वर्षअगाडि बनेको फिल्म झुमाको बोल–बोल पाखाहरूलाई रिमेक गरी तयार पारिएको गीत सार्वजनिक गरिएको हो।

बुढासुब्बा म्युजिकबाट सार्वजनिक गरिएको गीत सुनिता थेम्मी र विन्दु परियारले गाएका छन्। अगामी असोज १२ गतेलाई रिलिज डेट तोकिएको फिल्मको यो गीत छिरिङको पहिलो कोशेलीस्वरूप सार्वजनिक गरिएको यशकुमारले बताए। अत्यधिक लोकप्रिय फिल्मी गीतका रूपमा रहेको यो गीतमा संगीत साधक स्व. अम्बर गुरुङ र प्रकाश गुरुङले संगीत भरेका थिए भने रचना दिनेश अधिकारीको रहेको थियो।

 

झुमाका लागि यो गीत गायिका सुक्मित गुरुङले गाएकी थिइन्। ‘यो गीत स्वीकृति लिएर रिमिक्स गरेका छौं र सबैले मन पराइदिनुहुन्छ भन्ने विश्वास लिएका छौं’ –फिल्मका नायकमध्येका एक तथा निर्देशकसमेत रहेका गायक यशकुमारले भने। गीतमा अपर मुस्ताङको मनोरम दृश्य समेटिएको छ भने बौद्ध धर्माबलम्वीहरूको संस्कार संस्कृति झल्किएको छ। यसको भिडियोमा नवनायिका कामना भुजेललाई फिचर गरिएको छ। सवीर श्रेष्ठ, यम थापा र यशकुमारको लेखन रहेको फिल्ममा यशकुमार र कामना भुजेलका साथमा गायक तथा कलाकार निमा रुम्बाले पनि अभिनय गरेका छन्।