विपद्मा असुली धन्दा



मनसुन शुरु भएसँगै परेको अविरल वर्षाका कारण सडकमाथिबाट खसेका पहिरोका कारण जिल्लाका अधिकांश कच्ची सडक बन्द भएका छन् । यसै वर्ष ट्रयाक खुलेका र केही वर्षपहिला बनाइएका सडकसमेत पहिरोका कारण प्रभावित बनिरहेका छन् । कतै स्थानीय तहले आन्तरिक स्रोतको परिचालन गरेर बाटो खुलाइरहेका समाचार आइरहेका छन् भने कतै अझै पनि बाटो खुलाउन पहल भैरहेको छ ।
यही हो बेला भनेजस्तो गरेर प्राकृतिक विपत्ति परेको बेला फाइदा उठाउने र कानुन विपरीतका कर्म गर्ने प्रचलन हाम्रो नेपालमा छ । यस्तै प्रचलनजस्तै पहिरोका कारण अवरुद्ध बनेका कच्ची सडकमा छोटो दूरीमा चल्ने सवारीले मनोमानी भाडा उठाउने गरेका छन् । लामो दूरीमा चल्ने सवारीको भाडादर कायम गरिएको भए पनि बेला–बेलामा त्यो समेत कार्यान्वयन नभएको गुनासो आइरहेका बेला छोटो दूरीमा चल्ने अझै भनौं पहिरोको अवरोध नभएको क्षेत्रमा मात्रै कच्ची सडकमा चल्ने सवारीले बहानाबाजी गरेर भाडा असुल्ने गरेका छन् ।
बाढी–पहिरो, मौसमका कारण हुने परिवर्तन, प्राकृतिक विपत्ति आदि सबैले मिलेर सामना गर्नुपर्ने विषय हुन् । यस्तो अवस्थामा व्यवसाय चलाएकाले मौकाको फाइदा छोप्ने र नियमनकारी निकायले पनि कानमा तेल हालेर बस्ने होभने सर्वसाधारण सधैँ मर्कामा पर्नेछन् । त्यसैले पछिल्लो समय वर्षाका कारण दूरदराजका कच्ची सडक बन्द भैरहेको समाचारहरु आइरहेका बेला मौका छोपेर हुन सक्ने अवैधानिक कामप्रति सबै चनाखो हुनु जरुरी छ । नियम र कानुनले दिएको बाहेक कुनै पनि बहानामा जबर्जस्ती भाडा असुल्ने अधिकार कुनै पनि सवारीसाधनलाई छैन ।
– सरोज कार्की, बाग्लुङ ।

प्रतिक्रिया दिनुहोस्