परीक्षा नियन्त्रण कार्यालयको गैरजिम्मेवारीपन



माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गर्दा व्यापक त्रुटि भेटिएको छ । विद्यार्थीको भविष्यमाथि नै प्रश्नचिह्न खडा गर्ने गरी परीक्षाफल प्रकाशित हुनुले परीक्षा नियन्त्रण कार्यालयमाथि नै गम्भीर प्रश्न जन्माएको छ ।

परीक्षाफलमा आएको फरक–फरक परिणामले विद्यार्थी र अभिभावकलाई नै अलमलमा पारेको छ । परीक्षामा सहभागी हुने हरेक विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो यो । परीक्षा नियन्त्रण कार्यालयले लामो तयारीका साथ परीषाफल सार्वजनिक गर्ने गरेको छ ।

लामो समयको तयारीपछि सार्वजनिक भएको नतिजामा किन फरक पर्न गयो ? प्राविधिक त्रुटि विगतका वर्षहरुमा पनि हुने गरेको थियो । त्यो नगन्यरुपमा मात्र चर्चा हुन्थ्यो । तर यसपटक विद्यार्थीको भविष्यमा खेलबाड गर्दै विद्यार्थीले पाउनुपर्ने विषयगतरुपमा नै नम्बर कसरी छुट्न गयो ? परीक्षाफलमा अंक नै छुट्नुले नतिजाको विश्वसनीयतामाथि नै प्रश्न उब्जाएको छ ।

यसरी प्राविधिक त्रुटि हुनुमा परीक्षा नियन्त्रण कार्यालयको खेलबाड नै प्रमुख कारण मानिन्छ । परीक्षाफल प्रकाशित गर्नुअघि त्यसको बारेमा पर्याप्त अध्ययन–अनुसन्धान नगर्दा नै प्राविधिक त्रुटि हुन गएको देखिन्छ । यदि इन्ट्री गर्न बाँकी थियो भने त्यसको व्यवस्थापन नगरी किन हतार–हतार नतिजा प्रकाशन गरियो ?

परिणाममा देखिएको त्रुटिको कारण पत्ता लगाउनका लागि छानबिन समिति गठन गरिएको छ । सो समितिले निष्पक्ष र प्रभावकारीरुपमा छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सिफारिस गर्नुपर्छ । परीक्षाफल प्रकाशनमा के कारणले त्रुटि भएको हो ? त्रुटि हुनुमा दोषी को–को हुन् ? यसको यथार्थ जानकारी सार्वजनिक हुनुपर्छ ।

परीक्षा नियन्त्रण कार्यालयले शृङ्खलाबद्धरुपमा लापरबाही गरेको प्रमाण सार्वजनिक हुनुले लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पार्न सक्छ । यतिसम्म कि प्रकाशित एसईईको नतिजाअनुसार एक विद्यालयको परीक्षाफल नै प्रकाशित नभएको फेला परेको छ । परीक्षा नियन्त्रण कार्यालयको कारण विद्यालयमाथि नै अभिभावकले प्रश्न उठाएका छन् ।

परीक्षा बोर्डले इन्ट्री गर्न भूल भएको बताउँदै आएको छ । यसरी दोहो¥याएर टाडा इन्ट्री हुँदा कतै विद्यार्थीको भविष्य नै अन्यौलमा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ । परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा कोड नम्बर ९४७ रहेको उक्त विद्यालयको सिम्बोल नम्बर ०३१९२०० देखि ०३१९२३१ सम्मको विद्यार्थीको जीपीए उल्लेख भएको छैन ।

विद्यार्थीको भविष्य अन्यौलमा पार्ने गरी नजिता सार्वजनिक हुनु गैरजिम्मेवारीपना हो । त्यसैले त्रुटिको कारण पहिचान गरी आगामी दिनमा यस्ता त्रुटि दोहो¥याउन नदिने विषयमा सरकार चनाखो हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्