अपराधीलाई कडा कारवाही गर



देशमा राजनीतिक परिवर्तन आए पनि सामाजिक रुपमा रहेको कुप्रथा, विकृति र विसंगतीको अन्त्य हुन सकेको छैन् । राजनीतिक रुपमा मूलुकले जसरी फडको मारेको छ, सामाजिक रुपमा अपेक्षा गरेअनुसारको परिवर्तन हुन सकेको छैन् ।

समाजमा गलत काम गर्नेहरुलाई नियम कानुनले दण्डित गर्ने व्यवस्था पनि गरेको छ । तर राज्यलाई नै चुनौती दिने र समाजलाई नै लज्जित पार्ने घटनाको श्रृंखला रोकिएको छैन । कहिले पानी छोएको निँहुमा दलितले मृत्युवरण गर्नुपर्ने घटना घटने गरेको छ ।

अहिले पनि सामाजिक रुपमा भेदभाव, कुरिती, कुसंस्कार छुवाछुतजस्ता घटना दैनिकजसो नै घटने गरेको छ । सामाजिक रुपमा विभेद, छुवाछुत, हिंसालगायतको घटनालाई न्युनिकरण गर्नको लागि सरकारले बेलाबेलामा अभियान सञ्चालन गरे पनि सोचे अनुसारको परिवर्तन आउन सकेको छैन् । विभेद, छुवाछुतको मुख्य जड भनेको अशिक्षा र गरिबी नै हो ।

सरकारले समृद्ध नेपाल सुखी नेपालको नारा अगाडि सारे पनि व्यवहारमा भने लागू हुन सकेको छैन् । सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेपछि गरिब विपन्न समुदायको जीवनस्तरमा खासै सुधार आउन सकेको छैन् । पानी छुदा ज्यान जाने घटना, बोक्सीको आरोपमा कुटपिट गरेर ज्यानै समेत लिन घटना पटक–पटक दोहोरिदै आएका छन् ।

राजनीतिक रुपमा आएको परिवर्तनले समाजमा रहेको विकृति र विसंगतीको जरो किन उखेलेर फ्याक्न सकेन ? राजनीतिक दलहरुले भोटको मात्र राजनीति गर्ने तर समाजमा रहेको व्याप्त कुरिती विकृति र विसंगती हटाउने जिम्मेवारी लिन सकिरहेका छैनन ? समृद्ध नेपाल निर्माणको लागि सभ्य र चेतनशिल समाजको जरुरी पर्छ ।

नारा र भाषणले मात्र सामाजिक रुपमा रहेको गलत प्रवृत्ति हट्न सम्भव छैन् । सामाजिक विकृतिका कारणको मुख्य चुरोे पहिचान गरेर त्यसको दिर्घकालिन समाधान खोज्ने कार्यमा सरकारले पर्याप्त ध्यान दिनुपर्छ । औपचारिक कार्यक्रम नारा र भाषणले मात्र समृद्ध नेपाल निर्माणको अभियानले सार्थकता पाउन सक्दैन ।

केही दिन अघि मात्र सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटपिट मात्र गरिएन उनलाई अर्धनग्न पार्ने घटना सार्वजनिक भएको छ । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनमाथि अमानविय व्यवहार गर्ने रेखा गुप्ता र अनिता गुप्तामाथि कडा कारवाही गर्नुपर्छ ।

समाजिक रुपमा हुने जुनसकै विकृति र विसगती रोक्नको लागि सरकारले कडा भन्दा कदम चाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्