आगलागीका घटनामा पूर्वसावधानीको खाँचो



गर्मीयाम शुरु भएसँगै राजधानीलगायत देशका विभिन्न क्षेत्रमा आगलागीका घटना बढ्न थालेका छन् । मानवीय त्रुटिको कारणले पनि आगलागीको घटना हुने गरेका छन् । राजधानीमा अधिकांश आगलागी विद्युत् सर्ट भएर हुने गरेको छ । पछिल्लो दुई साताको अवधिमा राजधानीमा मात्र आठ स्थानमा आगलागी भएका छन् । राजधानी मात्र होइन, राजधानीबाहिरका विभिन्न जिल्लाका जङ्गलमा पनि आगलागीका घटना बढेका छन् । यसर्थ सतर्कता अपनाउनु जरुरी देखिएको छ ।

राजधानीभित्र अव्यवस्थितरुपमा निर्माण गरिएका घरमा आगलागी हुँदा सहजरुपमा वारुणयन्त्र जान सक्ने अवस्था छैन । वारुणयन्त्र जान सक्ने अवस्था नहुँदा आगलागी नियन्त्रण गर्नसमेत चुनौती थपिएको छ । आगलागीको घटना हुन नदिनको लागि नागरिकहरु नै सचेत हुनुपर्ने आवश्यकता छ । यसका लागि घरधनीले आफ्नो घरमा जडान गरेको विद्युत्को लाइनको बारेमा जानकारी राख्नुको साथै थप मर्मत गर्नुपर्ने भएमा नेपाल विद्युत् प्राधिकरणलाई समेत समयमा नै आग्रह गर्नुपर्छ । वारुणयन्त्र जान नसक्ने अवस्थामा पनि आगो नियन्त्रणका लागि अन्य वैकल्पिक उपायको पहिचान गरेर तयारी अवस्थामा रहन सरकारले ढिला गर्नुहुँदैन ।

आगलागीबाट हुन सक्ने करोडौंको मानवीय र भौतिक क्षतिलाई रोक्नको लागि सावधानी अपनाउनुको अर्को विकल्प छैन । राजधानीमा निर्माण भएका गगनचुम्बी भवन र भित्री गल्लीमा वारुणयन्त्रले काम गर्न नसक्ने अवस्था छ । एक तलादेखि १८ तलासम्मका घर निर्माण भएका छन् । त्यसका लागि पनि अहिलेदेखि नै सोच्नुपर्ने देखिन्छ । सामान्य घरमा आगलागी भएको अवस्थामा मात्र वारुणयन्त्रले काम गर्न सक्ने अवस्था छ । ठूला भवनमा आगलागी भएको अवस्थामा के गर्ने ? सरकारसँग कुनै योजना छैन । आगलागी भएको अवस्थामा राजधानीभित्र वारुणयन्त्र भए पनि अत्यधिक सवारी जाम हुँदा समयमा नै पुग्न नसक्ने अवस्थाले पनि समस्या झनै चर्को छ ।

धुप–बत्ती बाल्दा, चुरोट सल्काउँदा, विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्ज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी नहुँदा आगलागीका घटना हुने गरेका छन् । बढ्दो आगलागीको घटना नियन्त्रण गर्नको लागि सरकारले पनि जनचेतना जगाउने कार्य अगाडि बढाउनुपर्छ । विषेश गरी पानी तान्ने मोटर सर्ट भएर, ग्यास लिक भएर बढी आगलागीका घटना हुने गरेको तथ्याङ्क छ । त्यसैले आगलागी भएको अवस्थामा तत्काल नियन्त्रणमा लिने संयन्त्र बनाएर सरकारले काम गर्नुपर्ने देखिन्छ । समयमा नै वारुणयन्त्र नपुग्दा पनि ठूलो जनधनको क्षति हुने गरेकोले यसतर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्