प्रदेश–३ः मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना

0
Shares

हेटौंडा, (नेस) । प्रदेश नम्बर–३ को अस्थायी राजधानी हेटौंडास्थित मकवानपुरको जिल्ला समन्वय समिति कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालय स्थापना गरी शुक्रबारदेखि कार्यालय सञ्चालनमा आएको छ । कार्यालय भवनको तेस्रो तलामा प्रमुख सचिवको कार्यकक्ष बनाइएको छ ।

प्रदेश सरकारका प्रमुख सचिवमा मध्यक्षेत्रीय प्रशासक रहेका रेश्मिराज पाण्डेले मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिवमा पदबहाली गर्नुभएको हो । पदबहालीपश्चात् उहाँले सरकारी कार्यालयका प्रमुखहरुले तत्काल कार्यालय व्यवस्थापनमा सहयोग गरेकोप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले माघ २७ गते प्रदेशसभा बैठकले मुख्यमन्त्री चयन गर्ने र त्यसपछि सबै मन्त्रालय व्यवस्थित गरी सञ्चालन गरिने बताउनुभयो । पाण्डेले प्रदेश नम्बर–३ लाई नमूना प्रदेश बनाउने दाबी गर्नुभयो । उहाँले प्रदेशमा रहेका सबै कर्मचारीलाई चुस्तदुरुस्त भएर काम गर्न निर्देशन दिनुभयो ।

प्रमुख सचिव पाण्डेले मन्त्रालयहरु सञ्चालन तयारीलाई तीव्रता दिइने जानकारी दिनुभयो । उहाँले  मन्त्रालय, निवास र कार्यालय सञ्चालनका लागि समिति गठन गरिएको जानकारी दिँदै कर्मचारी संयन्त्रलाई तीव्रगतिमा काम गर्न निर्देशन दिनुभयो र भन्नुभयो– सबै सात मन्त्रालयको कार्यसञ्चालन तोकिएकै समयमा हुनेछ । उहाँले पारदर्शीरुपमा मन्त्रालय सञ्चालनमा ल्याउन पनि निर्देशन दिनुभएको छ 

‘प्रदेशमा उजुरी कम पर्ने गरी काम गनूसर््,’ उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रम बनाउन उहाँले मन्त्रालयका सचिव तथा कर्मचारीलाई निर्देशन दिँदै मन्त्रालय स्थापना भएपछि विस्थापित कार्यालयहरु छिटो स्थापना गरेर नागरिकका सेवामूलक काम गर्न आग्रह गर्नुभयो । सरकारले करिब एक साताअघि पाण्डेलाई प्रदेश–३ को प्रमुख सचिव नियुक्त गरेको थियो ।