पुष्कर बुढाथोकी, भक्तपुर
नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष वामदेव गौतमले कार्यदलले पेस गरेको प्रतिवेदनलाई बैठकले पारित गरेको जानकारी दिनुभयो।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणबारे पनि संक्षिप्तमा छलफल भएको बैठकमा सहभागी एमाले उपाध्यक्ष गौतमले बताउनुभयो।
दुई पार्टीले प्रदेशसभाका लागि ७०⁄३० को आधारमा शक्ति बाँडफाँड गर्ने र जसमा ४ वटा प्रदशेमा एमालेका मुख्यमन्त्री र सभामुख तथा दुईवटा प्रदेशमा माओवादीका मुख्यमन्त्री र सभामुख रहने गरी कार्यदलले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको हो।
उपाध्यक्ष गौतमले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणले दुई देशका सरकार र जनताबीचको सम्बन्धमा सुधार आउने र नयाँ सन्दर्भ शुरू हुने बताउनुभयो। बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको ब्रिफिङ गर्नुभएको छ।
बैठकले राष्ट्रियसभा निर्वाचन सन्दर्भमा र प्रदेश सरकार गठनबारे बनेको कार्यदलले दिएको सुझावलाई अनुमोदन गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो।
पार्टी एकताका सन्दर्भमा २ अध्यक्षबीच भइरहेको छलफल सकारात्मक रूपमा अघि बढेको बैठकले ठहर गर्दै अझै एक दुईपटक प्रमुख नेताहरू छलफलमा बस्ने र त्यस पछि संयोजन समितिको बैठक बसेर कार्यदल निर्माण गर्ने सहमति भएको श्रेष्ठले बताउनुभयो। बैठकले २ पार्टी एकताका बारेमा अझै कसरत नपुगेको ठहर गरेको छ।
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो– ‘पार्टी एकताका सम्बन्धमा अझै दुई तीन चरणमा २ पार्टीका शीर्ष नेतृत्वमा छलफल गरेर कार्यदल बनाउने कुरा भएको छ।
त्यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका क्रममा हुने एमाले, माओवादी केन्द्र र वाम गठबन्धनले भेटघाट गर्नेक्रममा निर्वाचनमा आएको परिणामअनुसारको साझा जनमतलाई आधार बनाएर कुराकानी गर्नेबारे सहमति भएको बताउनुभयो। भारतीय विदेशमन्त्री स्वराजको भ्रमण बारे उहाँसँगको बार्तामा बामपन्थी गठबन्धन र २ पार्टीको तर्फबाट राखिने बामपन्थी दृष्टिकोण बारे पनि छलफल भएको नेता श्रेष्ठले बताउनुभयो। बैठकले सरकारले गरेका पछिल्ला निर्णयको विरोध र भत्र्सना गर्ने निर्णयसमेत गरेको छ। प्रतिनिधि र प्रदेशसभा चुनावमा गठबन्धन गरेर पार्टी शीघ्र एकता गर्ने घोषणा गरेका एमाले र माओवादीले पछिल्लो समय एकीकृत पार्टीको नेतृत्व र सैद्धान्तिक कार्यदिशा टुंगोसमेत लगाउन सकेका छैनन्। यसमा पनि फेरि दुई अध्यक्षहरू बसेर कुरा टुंगो लगाउने सहमति भएको छ।
बैठकमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, नेताहरू ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू रामबहादुर थापा , वर्षमान पुनको सहभागिता रहेको थियो।











प्रतिक्रिया