नेपाल समाचारपत्र
काठमाडौं
विगतमा चिसिएको सम्बन्ध सुधार्न र अब गठन हुने सरकारसँग नयाँ ढंगले सम्बन्ध अघि बढाउने उद्देश्यका साथ भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं आइपुग्नुभएको छ।
एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार गर्ने निधो भएपछिको अवस्थालाई भारतले सकारात्मक रूपमा लिएको सन्देश दिने मुख्य उद्देश्यका उहाँ नेपाल आउनुभएको हो। बिहीबार अपराह्न काठमाडौं आएलगत्तै स्वराज राजनीतिक भेटवार्तामा व्यस्त बन्नुभएको छ। भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच ‘वान टु वान’ वार्ता भएको छ।
त्यसैगरी भारतीय टोलीसँग अध्यक्ष ओलीसहित एमाले नेताहरू ईश्वर पोख्रेल, विष्णु पौडेल, राजन भट्टराई, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताले सामूहिक भेटवार्ता गरेको छ। ओलीसँगको भेटवार्ताका क्रममा स्वराजले हालै सम्पन्न प्रदेश र केन्द्रको निर्वाचनमा एमालले पाएको सफलताको प्रसंग जोड्दै भावी प्रधानमन्त्रीका रूपमा बधाई दिनुभएको छ। सो बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फको समेत भएको स्वराजले प्रस्टइउनुभएको थियो। यसअघि पनि मोदीले ओलीलाई टेलिफोन गरेर बधाई दिँदै नयाँ सरकारसँग आफू सहकार्य गर्न तयार रहेको बताइसक्नुभएको छ।
बिहीबारको भेटवार्तामा ओली–स्वराजबीच आगामी दिनमा दुवै मुलुकबीच हुन सक्ने सहकार्य र विशेष सम्बन्धका बारेमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभेस कुमारले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ। एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेका बेला भएको यो भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ।
नेपालसँगको सम्बन्ध सुधार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को महिना नेपाल आउने तयारीमा रहनुभएकाले त्यसको गृहकार्यका लागि स्वराज अहिले नेपाल आउनुभएको स्रोतले जनाएको छ। ओलीको निमन्त्रणामा नेपाल आउनुभएकी स्वराजको सम्मानमा एमालले साँझ रात्रिभोजको आयोजना गरेको थियो। सामान्यतया विदेशी पाहुनालाई परराष्ट्र मन्त्रालयले सम्मानमा रात्रिभोज दिने प्रचलन रहे पनि स्वराज ओलीको निमन्त्रणामा आउनुभएकाले सम्मान एमालेका तर्फबाट दिइएको हो।
मधेशवादी दलका नेताहरू पनि स्वराजसँगको भेटवार्ताका लागि बिहीबार नै सोल्टी होटल पुगेका थिए। राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सबै नेताहरू भेटघाटमा सामेल थिए। स्वराजसँगको भेटवार्ता विशेष नभएको र समसामयिक विषयवस्तुमा केन्द्रित रहेको सो पार्टीले जनाएको छ।
यसअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै स्वराजले यो भ्रमणको कुनै एजेन्डा नभएको र दुई मुलुकको भ्रातृत्व विकासका लागि नेपाल आएको बताउनुभयो। ‘म त आउँदै–जाँदै गर्छु, अहिले कुनै एजेन्डा छैन, नितान्त राजनीतिक भेटघाटका लागि आएकी हु –उहाँले भन्नुभयो।
भ्रमण टोलीमा स्वराजका अतिरिक्त नव नियुक्त भारतीय विदेश सचिव विजयकेशर गोलखे, नेपाल डेक्स प्रमुख सुधाखर दलेला, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभेस कुमारलगायतका अधिकारी संलग्न हुनुहुन्छ। स्वराजले आज शुक्रबार बिहान पशुपति नाथको दर्शन गर्दै हुनुहुन्छ। त्यस लगत्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यतालिका तय भएको बताइएको छ। अपरान्ह् स्वदेश फर्कनुअघि उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ। बिहीबार दिउँसो साढे ३ बजे नै स्वराज काठमाडौं आइपुग्ने बताइए पनि एक घन्टा ढिलो मात्र उहाँ सवार जहाज निर्धारित समयभन्दा १ घन्टा ढिलो गरी विमानस्थल आइपुगेको थियो। स्वराजलाई विमानस्थलमा अर्थराज्य मन्त्री उदय शमशेर राणा, परराष्ट्र सचिव शंकर दास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जिम सिंह पुरीलगायतका दूतावासका अधिकारीले स्वागत गर्नुभएको थियो।











प्रतिक्रिया