सोल्टीमा स्वराजलाई ओलीको रात्रिभोज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी ओलीबीच आज साँझ भेटवार्ता हुने भनिएको छ । स्वराजको सम्मानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिका सदस्यहरु सहभागी हुने गरी रात्रिभोजको आयोजना गरेका छन्।

सोल्टीमोडस्थित होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा विदेशमन्त्री स्वराज, विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार, नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी लगायत अन्य उपस्थित हुने बताइएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि एमाले ठूलो शक्तिको रुपमा आएपछि भारतीय पक्ष नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा देखिएको छ। नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरेका एमाले अध्यक्ष ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सम्बन्ध सुधारको अभियानमा छन्। विदेशमन्त्री स्वराजका लागि दिइने उक्त रात्रिभोजमा एमालेबाट ओलीका अलावा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु रहने बताइएको छ।

बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल देश बाहिर रहेकाले स्वराजलाई दिइएको रात्रिभोजमा सहभागी हुने छैनन्।

Skip This