आन्द्रा प्यारालाइटिकले दुःखाइ मात्र हैन ज्यानै जान सक्छ



भगवती तिमल्सिना

कतै तपार्इं पनि पेट दुखेर ग्यास्टिक हुँदा बिनापरीक्षण र चिकित्सकको सल्लाहबिना नै मेडिकलमा गएर समस्या बताएर सीधै औषधि खरिद गरेर खाने गर्नुभएको छ भने बेलैमा होस पुर्याउनुस् है। अस्पताल जाँदा धेरै समय लाग्ने र डाक्टरलाई भेटेर विभिन्न परीक्षण गराउन झण्झट मानेर या अस्पताल तथा स्वास्थ्य संस्था, चिकित्सकको सेवा क्षेत्र टाढा भएका कारण औषधि पसलेकै शरणमा पर्दै हुनुहुन्छ भने यो गल्ती पनि हुन सक्छ। रोग पहिचानपछि मात्र औषधिको प्रयोग गर्नुपर्नेमा रोगको पहिचान नै नभई तपाईं हामीले खाँदै गरेको औषधि कतै बिष त बन्दै छैन ?

आम नेपालीको स्वास्थ्य उपचारमा पहुँच नभएकै कारण रोग लाग्नासाथ तत्काल पुग्ने आशाको केन्द्र भनेकै औषधि पसल बन्दै गएको अवस्थामा औषधि पसल सञ्चालकहरू आफैं चिकित्सक बन्नुभन्दा चिकित्सकको रिफरल औषधि मात्र बिरामीलाई बिक्री गर्ने गरेमा बिरामीले औषधि खाएर अर्को रोग लाग्ने थिएन कि ? यस विषयमा नेपाल सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ। अधिकांश औषधि पसलमा केही औषधिबाहेकका कडा औंषधि, एनटी बायोटिक जस्ता गम्भीर प्रकृतिका औषधिसमेत औषधि पसलेले सीधै बिक्री वितरण गर्दै आएको पाइन्छ। औषधि बिक्री वितरणलाई व्यवहारिक र व्यवस्थित गर्नका लागि अनुगमन, मूल्यांकनको जरुरी खड्किएको छ।

विश्वमा यो समस्या गर्भवती महिलाको बच्चा निकाल्दा गरिने शल्यक्रिया (सिजरिङ) पछि २ देखि २४ प्रतिशत बिरामीमा हुने गरेको डा. ताम्राकार बताउनुहुन्छ। त्यस्तै काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालको सर्जरी विभागका सर्जन डा. गोकुल भट्ट भन्नुहुन्छ– ‘अझ जटिल खालको शल्यक्रिया गर्दा एक तिहाइमा यो समस्या देखापर्ने गरेको गरेको छ। यस्ता बिरामीमा रगतको संक्रमणसमेत देखापर्ने भएकाले समयमै समस्या पहिचान गरी उपचार गरेमा निको हुन्छ।’

शरीरका हरेक अंग उत्तिकै महत्त्वपूर्ण छन्। यसमा अधिकांश नेपाली पेट दुख्ने र ग्यास्टिक नहुने विरलै होलान्। पेट दुख्ने र पेट फुलेर वायु तथा पाद रोकिएको खण्डमा समयमा उपचार हुन नसके मान्छेको ज्यानैसम्म जान सक्ने खतरा हुन्छ।

यस विषयमा काठमाडौं विश्व विद्यालयका सहप्राध्यापक तथा काठमाडौं विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेलका प्रसूति विशेषज्ञ डा. सुमनराज ताम्राकार भन्नुहुन्छ– ‘कतिपय अवस्थामा आन्द्रा प्यारालाइटिक (आइलिएस) हुन्छ र काम नै नगर्ने हुन्छ। आन्द्राको आइलिएस हुने दुई वटा कारण हुन्छ। पहिलोमा आन्द्रा वा खाद्य प्रणाली आन्द्रानलीमै ट्युमर (मासुको डल्लो) पलाएर आन्द्रामा नै बन्द भएर हुन्छ भने दोस्रो कारणमा शल्यक्रियापछि लवण पदार्थ सामान्य मात्रामा हुनुपर्ने कमी भएमा। खाद्यनलीमा संक्रमण भएमा। एपेन्डिक्स र सेल्सम ग्रन्थी इन्सुलिन उत्पादन गर्ने ग्रन्थी सुन्निएमा। आन्द्राले आर्टरी धमनी, लठ्ने औषधि खाँदा पनि आन्द्रा लठिने हुन्छ।’

यस्तो अवस्थामा अपनाउनुपर्ने उपचार विधिहरूः
अल्ट्रासाउन्ड (भिडियो एक्सरे) पेट तथा आन्द्राको परीक्षण
एक्सरे
ल्याब परीक्षण
तत्काल शल्यक्रिया गर्नुपर्ने या नपर्ने एकिन गर्ने
यसरी पेट दुख्दा आमाशय या स्टोमक माथिल्लो पेटमा अम्मलपन उत्पादन हुन्छ। यस्ता बिरामीलाई मेजो ग्यास्ट्रिक पाइप राख्नुपर्छ। मुखबाट केही खान दिन हुँदैन। यस्तो अवस्थामा सलाइनका माध्यमबाट मानव शरीरका लागि आवश्यक तत्त्वहरू पूर्ति गर्नुपर्छ। उपचार विधिका माध्यमबाट पेटको आन्द्रालाई सक्रिय बनाई दिसा लगाउने या पेटमा भएको ग्यास तथा तरल पदार्थ एनजी पाइप नाकबाट पेटमा पठाएर निकालेर पेटको घेरा सुधार आए⁄नआएको नाप्नुपर्छ। यस्तो अवस्थामा उल्टी आए⁄नआएको विशेष निगरानी गर्नुपर्छ। जब पेटबाट वायु र दिशा बाहिरिन्छ विस्तार बिरामीमा सुधार आउँछ। पेटको हावा दिसाबाहिर गएको छ या छैन पहिचानका लागि स्टेस्थेपकोपको माध्यमबाट र टेपले नापेर हेरिन्छ।

जब बिरामीको पेटमा सुधार आउँछ तब कालो चिया, झोलिँदो खानेकुरा दाल हुँदै जाउलो तथा नरम खाने कुरा र प्रशस्त मात्रामा झोलिँदो पदार्थ खुवाउने काम गरिन्छ।

‘एकपटक एपेन्डिक्स, आमाशय, मलद्वार, जटिलखालको हर्नियाका समस्या भएका व्यक्तिमा यस्ता समस्या दोहोरिन सक्छ। यो समस्या ग्यास्टिक बिग्रिएर अलसर भएर आमाशयमा प्वाल पर्ने, टाइफाइड भए पनि आन्द्रा प्वाल परी पिप जम्न सक्छ। यस्ता बिरामीमा यो समस्या बार–बार दोहोरिन पनि सक्छ।’ –डा.ताम्रकार भन्नुहुन्छ।

यस्ता समस्या भएका बिरामीले के–केमा ध्यान दिनुपर्छ ?
चिल्लो पीरो नखाने
पूर्ण उपचार गर्ने
हर्नियामा असर पर्ने खानपानमा मुख बार्ने
प्याङ्क्रियाटिभ
तुरुन्त अस्पताल जाने
सर्जरी गरिसकेका व्यक्तिले कडा खाने कुरा नखाने
सरसफाइमा विशेष ध्यान दिने
संक्रमणबाट जोगिने
यस्ता बिरामीलाई गम्भीर खालका जटिलता आउन सक्छ। त्यसैले समयमै सम्बन्धित चिकित्सकसँग तत्काल परामर्श लिने र उपचार पद्धति अपनाइहाल्नुपर्छ। ‘यस्ता बिरामीलाई तारम्तार बान्ता भयो भने अप्रेसन गर्नुपर्ने हुन्छ। पेट डम्म फुल्ने। डायथाम कलेजोभन्दा माथि ठीकमुनि ग्यास रहेको भेटिएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। बाक्लो मांसपेसीमा हावा भरिएको भेटिएमा तत्काल अप्रेसन गर्नुपर्छ।’ –डा. ताम्राकार भन्नुहुन्छ।

कन्जरभेटिब मेनेजमेन्ट
यस्ता बिरामीलाई शल्यचिकित्सकको निगरानीमा ग्यासपाइप नाकबाट राख्नुपर्छ। बिरामीले पेट फुल्यो भनेर मेडिकलबाट चिकित्सकको सल्लाह बेगर औषधि खरिद गर्दा नदु प्रामाडोल जस्तो औषधि परेमा बिरामीको ज्यान नै खतरा हुन सक्छ। त्यसैले सीधै मेडिकल गएर औषधि लिँदा बिरामीको शरीरमा निकै खतरा हुन सक्छ। ‘यस्तो अवस्थामा प्लेसन, ब्रुसेट, ब्रुफिन जस्ता दुःखाइ कम गर्ने औषधि खाँदा आन्द्रा प्वाल पर्न सक्छ। यसरी जटिलता निम्तिन सक्छ। स्वास्थ्य परीक्षण राम्रोसँग गरी चिकित्सकको सल्लाहअनुसार मात्र उपचार गर्नुपर्छ।’ –डा. ताम्रकार भन्नुहुन्छ।

यस्तो समस्यामा देखापर्ने खतराका संकेत
बारबार बान्ता हुने
खाने कुरा सबै मुखबाट
बाहिर निस्कने
बान्तामा दिसासमेत आउने।
‘यस्ता बिरामी परम्परागत उपचार तथा धामीझाक्रीको झारफुक गरेर शिथिल भएपछि अन्तिम अवस्थामा मात्र स्वास्थ्य केन्द्रमा जाने नभई आकस्मिक उपचार सेवामै जानुपर्छ। यसो नगरेमा शरीरमा निकै ठूलो जटिलतासमेत हुन सक्छ। अन्तिम अवस्थामा अस्पताल पुग्दा उपचार गर्दा गर्दै पनि बिरामीमा नकारात्मक असर पर्न सक्छ।’ –सहप्राध्यापक डा. ताम्राकार भन्नुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्