काठमाडौँ।
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई राष्ट्रिय परिचयपत्र (NID) भए वा नभएको विवरण स्वघोषणा गरी अद्यावधिक गर्न अनुरोध गरेको छ।
नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार बैंक खातावालाले राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेकाले बैंकले आफ्ना ग्राहकलाई आगामी असोज मसान्तभित्र उक्त विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।
बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ एप तथा बैंकको वेबसाइटमा उपलब्ध iServe मार्फत घरबाटै राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा तथा अद्यावधिक गर्न सक्नेछन्।
त्यसैगरी, ग्राहकले आफूलाई पायक पर्ने एनआईसी एशिया बैंकको जुनसुकै शाखा कार्यालयमा पुगेर पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ।
विदेशमा रहेका नेपाली नागरिकले समेत विदेशमै बसेर अनलाइन माध्यमबाट राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका आवश्यक कागजातका आधारमा बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ।
यसरी खाता खोलेका ग्राहक नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले ग्राहकलाई तोकिएको समयभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्न अनुरोध गरेका छन्।











प्रतिक्रिया