गोरखा।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेस्ट रिसोर्टमा सम्पन्न भएको छ।
‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती, कर्मचारीको क्षमता अभिवृद्धि तथा प्रविधिको प्रयोगलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रममा अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले बजारको बदलिँदो अवस्था अनुसार कर्मचारीलाई तयार पार्न आवश्यक रहेको बताइन्।
उनले कर्मचारीको क्षमता विकासका लागि कम्पनीले मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि तालिम तथा प्रशिक्षणलाई प्राथमिकता दिने बताइन्। जीवन बीमा व्यवसायमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सम्भावना बढ्दै गएको भन्दै उनले डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन प्रविधिको उपयोगमा जोड दिइन्।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नयाँ आर्थिक वर्षसँगै कम्पनीका लागि नयाँ लक्ष्य, संकल्प र अवसर सुरु भएको बताए। उनले कर्मचारीको सामूहिक प्रयास, प्रतिबद्धता र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढाउन सकिने धारणा राखे।
सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।
सम्मेलनका क्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरणको जोखिम हुन सक्ने भन्दै उनले कम्पनीका सबै तहका कर्मचारीलाई यस विषयमा सचेत र जिम्मेवार भएर काम गर्न आग्रह गरे।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रशिक्षण दिएका थिए। उनले एआईका विभिन्न उपकरणको प्रयोग, डिजिटल माध्यमबाट बीमा व्यवसायको प्रवर्द्धन तथा प्रभावकारी मार्केटिङका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए।
श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तार, व्यवसाय वृद्धि तथा व्यावसायिक सफलता हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए। उनले विभिन्न व्यावहारिक उदाहरणमार्फत बजारमा प्रतिस्पर्धा गर्न आवश्यक रणनीतिबारे जानकारी गराएका थिए।

सम्मेलनकै अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच शाखा कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन तथा बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन–तीन शाखालाई समेत पुरस्कृत गरिएको कम्पनीले जनाएको छ।
चेयरपर्सन क्लब तथा सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई पनि सम्मान गरिएको थियो।
सम्मेलनका क्रममा कर्मचारीबीच आपसी सम्बन्ध र सहकार्य सुदृढ गर्ने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि समेत सञ्चालन गरिएको थियो। पुरुष तथा महिला कर्मचारीबीच ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पुरस्कार प्रदान गरेका थिए।
कम्पनीका अनुसार चारदिने सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्न, कर्मचारीको क्षमता अभिवृद्धि गर्न तथा शाखा र केन्द्रीय कार्यालयबीचको समन्वय र संस्थागत प्रतिबद्धता थप मजबुत बनाउन सहयोग पुगेको छ।











प्रतिक्रिया