सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले जित्यो यु-१६ इस्टर्न रिजन उपाधि



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपालले थाइल्यान्डमा सम्पन्न एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालले आज भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले हराएर उपाधि जितेको हो । यो नेपालको यस वर्ष एसीसी अन्तर्गत दोस्रो उपाधि हो । यसअघि नेपालले यु १९ इस्टर्न रिजनमा विजेता बन्न सफल भएको थियो ।

नेपालले बैंककस्थित टर्डथाइ मैदानमा पहिले ब्याटिङ गर्दै निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो । नेपालका लागि मध्यक्रमका ब्याटसम्यान विशाल विक्रम केसीलदे सर्वाधिक ६३ रनको योगदान दिए । उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै सुनील भण्डारीले ४२ रन जोड्दा नारायण जोशी ४६ रनमा नटआउट रहे । २३ बलमा उनले पाँच चौका र एक छक्का हानेका थिए ।

सिंगापुरको ब्याटिङ भने नेपाली बलिङसामु निस्क्रिय रह्यो । ३१ दशमलव ५ ओभरसम्म कोसिस गरेपनि टोली १ सय १२ रनमै रोकियो । नेपाली बलरमा सुर्य तामाङले फेरि एकपटक राम्रो बलिङ गरे । यसअघि सेमिफाइनलमा १२ रन मात्रै खर्चेर चार विकेट लिएका सुर्यले तीन विकेट हात पारे । अजयकुमार लोनियाले पनि तीनै विकेट लिँदा नारायण र कुशल मल्लको हातमा एक–एक विकेट परेका थिए ।

प्रतिक्रिया दिनुहोस्