प्रहरीलाई मिक्स टिम उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल प्रहरी क्लबले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स टिम इभेन्टको उपाधि सोमबार जितेको छ।

प्रहरीले नेपाल एपीएफ क्लबलाई १७–५ ले पराजित गर्यो। मिक्स टिममा समान ५–५ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गरेका हुन्। जसमा प्रहरीले जित्ने क्रममा पुरुष सिंगल्समा स्यान्टु श्रेष्ठले अमरलाल मल्ललाई र दीप साउनले पुरुषोत्तम वज्रचार्यलाई, महिला सिंगल्समा नविता श्रेष्ठले सेलिशा खड्गीलाई र एलिना महर्जनले अञ्जु सुवाललाई हराए।

त्यस्तै पुरुष डबल्समा स्यान्टु र विनेश खनियाको जोडीले अमर र शिवसुन्दर गोथेको जोडीलाई, मिक्स डबल्समा दीप साउन र नविताको जोडीले पुरुषोत्तम वज्राचार्य र सिक्का सुवालको जोडीलाई तथा महिला डबल्समा एलिना र मञ्जु सुवालको जोडीले सेलिशा र अनिता महर्जनको जोडीलाई हराएका थिए। सात टिम सहभागी मिक्स टिममा आर्मीले तेस्रो स्थानमा चित्त बुझायो। शीर्ष तीन स्थानमा रहेकाले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्