श्यान्टु र नवितालाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली टेबलटेनिसका राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

नेपाल प्रहरीकाकै दुबै खेलाडीले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेल जितेर उपाधि हात पारेका हुन्। पुरुष सिंगल्स फाइनलमा श्यान्टुले दुई पटकका पूर्वच्याम्पियन प्रहरीकै दीप साउनलाई ४–१ को सेटमा पराजित गरे। उनले दीपलाई ७–११, १३–११, ११–३, ११–९ र ११–९ को सेटमा हराएका थिए। उपाधि यात्रासम्म अपराजित रहेका श्यान्टुले फाइनल प्रवेशका लागि भएको क्वालिफायर राउन्डमा नेपाल एपीएफका पुरुषोत्तम वज्राचार्यलाई ४–१ ले पाखा लगाएका थिए।पूर्वराष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेलाई हराउँदै श्यान्टु गत सातौं राष्ट्रिय खेलकुदमा १६ वर्षको उमेरमा राष्ट्रिय च्याम्पियन बनेका हुन्। नेपाली टेबलटेनिसको इतिहासमा यति कम उमेरमा सिंगल्सको उपाधि जित्नेमा उनी पहिलो खेलाडीसमेत बन्दै
इतिहास रचेका थिए। पुरुषोत्तम भने तेस्रो स्थानमा रहे।

यसैगरी महिला सिंगल्सको उपाधि भिडन्तमा नविता श्रेष्ठले आफ्नै नन्द एलिना महर्जनको चुनौती ११–९, ११–७, १०–१२, ११–९ र ११–८ को सेटमा समाप्त परिन्। प्रतियोगिताभर एक खेलमा पराजय भोगेकी नविताले पहिलो क्वालिफायर राउन्डमा सुपर लिगमा दोस्रो भएकी नेपाल आर्मीकी स्वेच्छा नेम्वाङमाथि ४–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेकी हुन्। सुपर लिगमा अपराजित रहँदै पहिलो भएकी नविता समूह चरणको खेलमा आर्मीकी दीक्षा तामाङसँग पराजित भएकी थिइन्। स्वेच्छा तेस्रो भइन्। दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी जनही २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारको हक्दार बने।
यसैगरी प्रतियोगिताअन्तर्गत यु–१६ सिंगल्सको ब्वाइजमा एपीएफका संयोग कपाली र गल्र्समा आर्मीकी दीक्षा दाहाल पहिलो भए। ब्वाइज फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई १३–१५, १३–११, ११–६, ११–९, ६–११ र ११–८ ले पराजित गरे। याला स्पिनका डिकेन महर्जनले आर्मीका बोधित केसीलाई ४–३ ले हराउदै तेस्रो बने।

गल्र्स फाइनलमा दीक्षाले वज्र युनियनकी स्मृति पन्तमाथि ११–७, ११–८, ११–७ र ११–७ को जित रचिन्। तेस्रो स्थानका लागि भएको खेलमा एपीएफकी अन्जु सुवालले पिङपोङ सुपर स्टारकी मारिया थापा मगरलाई ४–१ ले सहजै पन्छाइन्। ब्वाइज र गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्