गल्ती सच्याऊ समन्वय बढाऊ



आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई बिथोल्ने गरी मुलुकको विभिन्न क्षेत्रमा बम विस्फोटन र निर्वाचनविरोधी गतिविधि भइरहेका छन् । काठमाडौं उपत्यकाबाहिर हुँदै आएका यस्ता घटना पछिल्ला दिनमा उपत्यकामा समेत दोहोरिन थालेको छ । शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासलाई लक्षित गर्दै बम विस्फोट भएको छ भने ललितपुरको यूएन पार्क नजिकै पनि त्यस्तै घटना दोहोरिएको छ । उम्मेदवार र चुनावी कार्यक्रमलाई लक्षित गरेर बम विस्फोटनका घटना दोहोरिरहेका छन् । शनिबार कपिलवस्तुमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी चुनावी सभालाई लक्षित गर्दै बम विस्फोट भएको छ । यससँगै सुरक्षाका दृष्टिकोणले संवेदनशील ठहरिएका क्षेत्र र आसपासमा सुरक्षा निकायले निगरानी बढाए पनि यस्ता गतिविधि घटेका छैनन् । गत साता दाङमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा बम विस्फोट हुँदा एक जना म्यादी प्रहरीको ज्यान गयो । उदयपुरमा नेपाली कांग्रेसका उम्मेदवार चडेको गाडी धरापमा पर्दा उम्मेदवारसहित केही कार्यकर्ता घाइते भएका छन् । संयोग मान्नुपर्छ अहिलेसम्म यस्ता घटनामा ठूलो मानवीय क्षति भएको छैन ।

सरकारले प्रायः हरेक दिन निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेकालाई पक्राउ गरेको बताउने गरेको छ । प्रहरीले बम र बम बनाउने कच्चा पदार्थसहित केही व्यक्ति पक्राउ गरेको पनि सुनिन्छ । तर, सरकार जुन ढंगले निर्वाचन सुरक्षामा गम्भीर बन्नुपर्ने हो त्यस्तो देखिएको छैन । प्रमुख प्रतिपक्षी दल एमालेसहित अन्य दलले निर्वाचन सुरक्षाबारे सरकारलाई गम्भीररूपमा ध्यानाकर्षण गराएका छैनन् । ती दल चुनावी प्रचारमा मात्रै केन्द्रित भएका छन् । विस्फोटको शृंखलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाको मात्रै संलग्नता छ वा अन्य दल र समूहको पनि संलग्न छ भनेर सरकारले प्रस्टरूपमा बताउन सकेको छैन । यस्तै कारणले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पहिलो चरणभन्दा बढी हिंसात्मक हुने देखिएको छ । त्यसो त सुरक्षा संवेदनशील मानिएका र तराईसहित समग्र क्षेत्रलाई लक्षित गरेर सीमा क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाइएको सरकारले जनाएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले संयुक्त गस्ती शुरू गरेको बताइएको छ । भारतसँग सीमा जोडिएका नेपाल प्रवेश गर्ने विभिन्न ३१ नाका र आसपासका क्षेत्रमा अनुगमन बढाइएको सरकारले जनाएको छ । यो समयमा विगतमा देखिएका सुरक्षा कमजोरी सच्याउँदै सुरक्षा निकायबीच गतिलो समन्वय आवश्यक छ । एकीकृत उच्च सुरक्षा सतर्कता बढाउन ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्