इपिएल खेल्न राष्ट्रिय क्रिकेटरलाई आइसिसीको बन्देज



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालका राष्ट्रिय क्रिकेटरलाई एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न बन्देज लगाएको छ। आइसिसीले इपिएल मान्यता प्राप्त प्रतियोगिता नभएकाले कुनै पनि खेलाडीलाई खेल्न अनुमति नभएको जनाएको हो।

आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको तथा अनुमतिन दिन नसकिने इमेल मार्फत जनाएका हुन्।

इपिएल आयोजकले आइसिसीलाई पत्राचार गरेपछि आइसिसीले जवाफ पठाएको खबर प्रप्त भएकाे छ । ‘नेपालको सदस्यता आइसिसीले निलम्बन गरेको स्मरण गराउँन चाहान्छौं। यो अवस्थामा नेपालभित्र हुने प्रतियोगिताको मञ्जुरी आइसिसीले मात्र दिन सक्छ। आइसिसीले प्रतियोगिता गर्न स्वीकृती दिएको छैन। त्यसैले यो प्रतियोगिता सञ्चालन गर्न आइसिसीको अनुमति छैन। प्रतियोगिता खेल्न कुनै पनि खेलाडीलाई अनुमित छैन र स्वीकृति दिइने छैन।’ पत्रमा भनिएकाे छ ।

आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो। आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ।

नेपाली खेलाडी छनोट तथा प्रतियोगिता व्यवस्थापनाको जिम्मेवारी सम्हाल्दै आएको आइसिसीले गत असारमा काठमाडौंमा भएको एसियन प्रिमियर लिग (एपिएल) लाई पनि अनुमति नभएको भन्दै पत्राचार गरेको थियो। एपिएलमा नेपाली राष्ट्रिय टीमका कुनै पनि क्रिकेटर सहभागी थिएनन्।

क्यानको निलम्बनपछि नेपालको सिनियर टिम र यू–१९ टिमका खेलाडी आइसिसी अन्तर्गत छन्। यसर्थ आइसिसीको अनुमतिबिना कुनै प्रतियोगिता खेल्न सक्दैनन्। यद्यपी सिनियर टिम तथा यू–१९ टिमका क्रिकेटरले इपिएल खेल्न सम्झौता गरिसकेका छन्।

राष्ट्रिय टिमका पूर्व खेलाडी आमिर अख्तरको सक्रियता इपिएल हुन लागेको हो। यसअघि अख्तरले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको घोषणा गर्दा आइसिसीले अनुमति दिएको थिएन। एनपिएलको नाममा निजी संस्थाले प्रतियोगिता गर्न नसक्ने भन्दै आइसिसी तगारो बनेको थियो। अख्तरले नाम परिवर्तन गरेर गत वर्ष इपिएल गराएका थिए। क्यान निलम्बनकै अवस्थानमा गत वर्ष इपिएल हुँदा आइसिसीले कुनै प्रतिक्रिया जनाएको थिएन।

आगामी पुस ३ देखि तय भएको इपिएलको खेल तालिका समेत सार्वजनिक भइसकेको छ। लाखौं खर्च गरिसकेको इपिएलले अक्सनबाट खेलाडी छनोट गरेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।

इपिएलका लागि खेलाडी अक्सन (बोलकबोल) मार्फत प्रत्येक टिमले १०–१० खेलाडी भित्र्याएका थिए। अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ। सबै टिमले ट्यालेन्ट हन्ट गरिरहेका छन् भने विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन।

अक्सनमा अलराउन्डर आरिफ शेख, तीव्र गतिका बलर करण केसी, युवा स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी सबैभन्दा बढी १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका थिए। आरिफलाई भैरहवा ग्लाडिएटरले भित्र्याउँदा करणलाई विराटनगर वारियर्सले आफ्नो टिममा राखेको थियो। सन्दीप ललितपुर पाट्रिओट्समा उच्चतम मूल्यमा बिक्री भएका थिए भने विनोद पोखरा राइनोजमा आबद्ध भएका थिए।

यस्तै, काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए।

तर, आइसिसीले प्रतियोगितामा कुनै पनि खेलाडीलाई अनुमति नदिने जनाएपछि अब इपिएल के हुने भन्ने अन्यौल छ।

प्रतिक्रिया दिनुहोस्