थाइल्यान्डमा नेपालको पहिलो जित



नेपाल समाचारपत्र
काठमाडौं
थाइल्यान्डमा जारी आईसीसी विश्व महिला टी–२० क्रिकेटअन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ।

नेपालले शुक्रबार भएको खेलमा मलेसियालाई ३३ रनले हराएको हो। यो नेपालको चार खेलमा पहिलो जितसमेत थियो। अघिल्लो दिन संयुक्त अरब इमिरेट्ससँग हारेको नेपालको यसअघि थाइल्यान्ड र हङकङविरुद्ध खेल वर्षाको कारण रद्द गरिएको थियो। यो जितसँगै नेपालले ४ अंक जोडेको छ।

नेपालले समूहमा पाँचौ खेल चीनसँग आइतबार खेल्नेछ। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो। नेपाली टोलीको लागि सीता मगरले ३७ रन र ज्योति पाण्डेले २१ रनको योगदान दिएका थिए। त्यस्तै काजल श्रेष्ठले १४ रन रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंक छुन पाएनन्।

ब्याटिङपछि बलिङमा पनि नेपाली महिला क्रिकेटरले राम्रो प्रदर्शन गरेका थिए। मलेसियाको महिला टोली निर्धारित २० ओभरमा ७५ रनमा अलआउट भएको थियो। टोलीकी एमेलीया इलीयानीले सर्वाधिक २४ रन बनाइन्। नेपालको बलरमा करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन् भने सोनु खड्का, नेरी थापा, रितु कनोजिया, सीता मगरले एक–एक विकेट लिए।

राउन्ड रोबिनको आधारमा भइरहेको लिगमा एसिया क्षेत्रका ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। यो क्षेत्रबाट शीर्ष हुने दुई टोली आगामी वर्ष नेदरल्यान्डमा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताको लागि छानिनेछन्। जहाँ बंगलादेश, आयरल्यान्ड, पपुआ न्युगिनी, नेदरल्यान्ड, स्कटल्यान्ड र युगान्डा पहिल्यै रहेका छन्।
आईसीसी विश्व महिला टी–२० क्रिकेट एसिया क्षेत्र छनोट

प्रतिक्रिया दिनुहोस्