प्लेअफमा स्विजरल्यान्ड र क्रोएशिया विजयी

0
Shares

लन्डन, (एजेन्सी)
स्विजरल्यान्ड र क्रोएशिया आगामी वर्ष रसियामा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोटका लागि भएको प्लेअफमा विजयी भएका छन्।

यूरोपियन समुहको प्लेअफ अन्तर्गत बिहीबार राती भएको पहिलो लेगमा क्रोएसियाले ग्रीसलाई ४–१ ले हराएर विश्वकपमा पुग्ने लगभय तय गर्यो। अर्को खेलमा भने स्विजरल्यान्डले उत्तरी आयरल्यान्डलाई १–० ले हराएको छ। विश्वकपमा छनोट हुन स्विजरल्यान्डले दोस्रो लेगमा बराबरी खेले पुग्छ। तर आइरिस टोलीको लागि भने २–० को जित आवश्यक छ।
स्विजरल्यान्डले उतरी आयरल्यान्डलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो। पाहुना टोलीको जितमा रिकार्डो रोड्रिग्वेजले खेलको ५८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक सावित बन्यो।

उता जाग्रेबमा टुंगिएको खेलअन्तर्गत १३औं मिनटमै क्रोएशियाका लागि लुका मोड्रिचले पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए। यसैगरी निकोला कालिनिच १९औं मिनेटमा गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारेका थिए। तर ३०औं मिनेटमा सोक्रटिसले एक गोल गर्दै ग्रीसलाई खेलमा फर्काउने प्रयास गरे। गोल बेहोरेको तीन मिनेट नबित्दै इभाँ पेरिसिचले क्रोएशियाका लागि तेस्रो गोल सम्भव पारे। यसैगरी खेलको ४९औं मिनेटमा आन्द्रे क्रामारिचले चौथो गोल गरेपछि क्रोएसियाको जित सुनिश्चित बन्यो।