नेपाल समाचारपत्र, काठमाडौं
पाल प्रहरी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत ५० औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ।
१९ स्पर्धा समावेश प्रतियोगितामा सर्वाधिक ८ स्वर्ण जित्दै प्रहरी टिम च्याम्पियन बन्यो। पहिलो दिन ४ स्वर्ण जितेको प्रहरीले दोस्रो तथा अन्तिम दिनमा पनि त्यति नै संख्यामा स्वर्ण जितेको थियो। सम्झना लेबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा त्रिभूवन आर्मी क्लब ६ स्वर्णसाथ दोश्रो भयो। नेपाली एपीएफ क्लब ४ स्वर्णसाथ तेश्रो बन्यो। विभागीय टोली बाहेक स्वर्ण जित्नेमा मध्यमाञ्चल मात्र रह्यो। बाँकी भएको एक स्वर्ण ४० केजीमा मध्यमाञ्चलकी जिया खड्गीले जितेकी हुन्। उनले फाइनलमा प्रहरीकी एन्जिला धिमालको चुनौती समाप्त गरेकी थिइन्।
प्रतियोगिताअन्तर्गत पुरुषमा प्रहरीका रविन्द्र कार्की र महिलामा आर्मीकी कुसुम खड्का उत्कृष्ट खेलाडी चुनिए। रविन्द्रले ६० केजीमा स्वर्ण जिते भने कुसुमले ४५ केजीमा स्वर्ण हात पारेकी थिइन्। उत्कृष्ट भएवापत दुवैले समान १०–१० हजार, ट्रयाकसुट र सुट प्राप्त गरे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिला ६१ केजीमा प्रहरीकी सुनिता महर्जनले आर्मीकी सनी लामालाई, ६८ केजीमाथि आर्मीकी रिता कार्कीले एपीएफकी कल्पना बस्नेतलाई र ६८ केजीमुनि एपीएफकी रोजी ओझाले आर्मीकी विभूषा थापालाई हराएर स्वर्ण जिते।
पुरुष ७५ केजीमा प्रहरीका गंगाराम कुसुवारले मध्यमाञ्चलका किशोर लामालाई, ८४ केजीमुनि एपीएफका भीम तामाङले प्रहरीका विप्लव श्रेष्ठ, ८४ केजीमाथि प्रहरीका दिवस श्रेष्ठले एपीएफका डिगम्बर पन्तलाई, ५५ केजीमा प्रहरीका सोनाम लामाले पूर्वाञ्चलका नवीन राईलाई, ६७ केजीमा एपीएफका विजय लामाले मध्यपश्चिमाञ्चलका प्रकाश घर्ती मगरलाई पराजित गरेर स्वर्ण पदक हासिल गरेका थिए।











प्रतिक्रिया