रियल र बार्सिलोनाको दूरी बढ्दै



 

मेड्रिड, (एजेन्सी)
स्पेनिस ला लिगाको डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड जिरोनासँग पराजित हुँदा रियल र बार्सिलोनाबीच अंकदूरी फराकिलो भएको छ।

ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मेड्रिडलाई जिरोनाले २–१ ले हराएको हो। एक गोलले अघि रहे पनि अग्रतालाई जोगाउन नसक्दा रियलले ३ अंक गुमाउनुपरेको थियो। रियल मेड्रिडले खेलको १२औं मिनेटमा नै अग्रता लिन सफल भएको थियो। रिबाउन्ड भएको क्रिस्टियानो रोनाल्डोको प्रहारलाई इस्कोले जिरोनाको गोलपोस्टको जाली चुमाएका थिए।

यता पहिलो हाफसम्म १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जिरोनाले २ गोल फर्काउन सफल भयो। खेलको ५४औं मिनेटमा स्ट्राइकर क्रिस्टियन स्टुवानिले गोल गर्दै घरेलु टोली जिरोनालाई खेलमा फर्काएका थिए। त्यसको ४ मिनेटपछि नै जिरोनाले विजयी गोल गर्यो। पाब्लो माफियोको पासमा क्रिस्टियन पोर्टुले गोल गर्दै बलियो प्रतिद्वन्द्वी रियलविरुद्ध जिरोनालाई महत्त्वपूर्ण जित दिलाए।

जितसँगै १० खेलमा १२ अंकका साथ जिरोना ११औं स्थानमा उक्लेको छ। रियल भने १० खेलमा २० अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। यो नतिजापछि रियलमाथि शीर्ष टोली बार्सिलोनाले ८ अंकको अग्रता बनाएको छ।

ला लिगाअन्तर्गत आइतबारै भएको अन्य खेलहरूमा गेटाफेले रियल सोसिडाड र मालागाले सेल्टा भिगोलाई समान २–१ ले हराउँदा एइबर र लेभान्तेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्