भारतलाई जिल्ल्याएर पाकिस्तान च्याम्पियन



 

लन्डन, (एजेन्सी)
पाकिस्तानले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध फाइनल खेलमा १ सय ८० रनको सानदार जित हात पारेर इंग्ल्यान्डमा आयोजित च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।

लर्डस्को ओभल मैदानमा पाकिस्तानले ३ सय ३९ रनको विशाल लक्ष्य दिएकोमा भारत केवल ३० दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ५८ रनमा समेटिएको थियो। पाकिस्तानका लागि ओपनर फखर जमानले मेडन शतक प्रहार गरे। तीन रनमा जीवनदान पाएका फखरले भारतीय बलरको धुलाइ गर्दै १ सय १४ रन जोडेका थिए। उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको करिअरमा पहिलो शतक लगाएका थिए। म्यान अफ द म्याच उनले १२ चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै अर्का ओपनर अजहर अलीले ६ चौका र १ छक्काको सहयोगमा ५९ रन बनाएका थिए। अजहर र फखरले पहिलो विकेटका लागि १ सय २८ रनको साझेदारी गरे। त्यस्तै पछि आएका ब्याट्सम्यानसामु पनि भारतीय बलर निरीह सावित भएका थिए। पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३८ रनको बलियो योगफल बनाउन सफल भयो। मोहम्मद हाफिजले ३७ बलमा ४ चौका र ३ छक्काका सहयोगमा ५७ रन बनाए भने बाबर आजम ४ रनले अर्धशतक बनाउन चुकेका थिए।

जवाफमा भारतीय ब्याटिङ शुरूदेखि नै दबाबमा पुगेको थियो। मोहम्मद आमिरले ३ विकेट शुरूको १० ओभरभित्रै निकालेपछि भारतको जित्ने आशा समाप्त भएको थियो। आमिरले रोहित शर्मालाई शून्यमा, कप्तान विराट कोहलीलाई ५ रनमा र शिखर धवनलाई २१ रनमा आउट गरेका थिए। ३३ रनका लागि ३ विकेट गुमाएको भारतलाई थप आघात बनाए सादाब खानले। उनले युवराज सिंह (२२) र केदार जाधव (९) लाई पवेलियनको बाटो देखाएका थिए। हसन अलीले महेन्द्रसिंह धोनीलाई ४ रनमा आउट गरेपछि भारतको झिनो आशा पनि तुहिएको थियो। बीचमा हार्दिक पाण्डेले आक्रामक ब्याटिङ गरे तर उनी रनआउट भए। उनले ४३ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ७६ रन जोडेका थिए।

समूह चरणमा पाकिस्तान भारतसँग १ सय २४ रनले पराजित भएपछि पहिलै बाहिरिने सम्भावना बनेको थियो। तर पछि दक्षिण अफ्रिका र श्रीलंकालाई हराएर सेमिफाइनलमा पुगेको पाकिस्तानले आयोजक टोली इंग्ल्यान्डलाई हराएर फाइनलको यात्रा तय गर्यो। फाइनलमा भारतसँग विगतमा हारिरहेको स्थितिलाई यसपटक उल्टाएर पाकिस्तानले च्याम्पियन्स ट्रफी जित्यो।

प्रतिक्रिया दिनुहोस्