नेपाल विकिरणको उच्च जोखिममा, अवस्था पत्ता लगाउन स्टेसन स्थापना हुँदै



टीका बन्धन, काठमाडौं
दक्षिण एसियाली मुलुकहरूमा आणविक ऊर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रबल सम्भावना बढेको छ।

वातावरणमा विकिरण (रेडियोधर्मी पदार्थ)को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना उच्च रहेको विज्ञहरूको ठहर छ।

छिमेकी मुलुकहरूका आणविक भट्टीमा हुन सक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपाल त्यस्तो जोखिममा रहेको विज्ञहरू बताउँछन्। भारतको उत्तरप्रदेशस्थित नारोरा प्लान्ट र बंगलादेशमा निर्माणाधीन भट्टी नेपाली सीमा क्षेत्रबाट क्रमशः १ सय ९० र २ सय ७० किलोमिटरका हाराहारीको हवाई दूरीमा रहेको बताइएको छ। हाल भारतका विभिन्न प्रान्तमा करिब २ दर्जन आणविक भट्टी सञ्चालनमा छन् भने बंगलादेश आगामी ५ वर्षभित्रमा २ वटा भट्टी सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ।

ती मुलुकहरूमा रहेका भट्टीबाट विकीरण चुहावट भएको अवस्थामा भारतीय भूमि हुँदै नेपाल भित्रिने पूर्वी र पश्चिमी वायुको प्रभावले सहजै विकीरण भित्र्याउन सक्ने नेपाल विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का विकिरण विज्ञ डा. बुद्धराम साह बताउनुहुन्छ। जनस्वास्थ्यका दृष्टिकोणले प्रतिघन्टा शून्य दशमलव २ देखि शून्य दशमलव ५ ‘माइक्रोसिवर्ट’ विकीरणको मात्रा औषत मान्न सकिने उहाँले बताउनुभयो। सोभन्दा माथिको विकीरणको मात्राले भने आम मानिसको स्वास्थ्यलाई प्रत्यक्ष⁄अप्रत्यक्ष असर पुर्याउन सक्ने डा.साहले बताउनुभयो।

‘विकीरणको मात्रा २ दशमलव ५ माइक्रोसिवर्ट नाघेको अवस्थामा खास गरी बालबालिका र गर्भवती महिलालाई असर पुर्याउन सक्छ, उहाँले प्रष्ट्याउँदै भन्नुभयो– ‘त्यस्तो प्रभावका कारण नवजात शिशुहरू अपांगता भएका र सुस्त मनस्थितिका जन्मिन सक्छन्।’ चीनमा सञ्चालनमा रहेका अधिकांश आणविक भट्टी भने दक्षिण चीन सागर आसपासमा रहेकाले उत्तरतर्फको भौगोलिक संरचनाका कारण सोझै चिनियाँ वायु नेपाल प्रवेश गर्न सम्भव नरहेको विज्ञहरूको तर्क छ। दक्षिण चीन सागर र नेपालको हवाइ दूरी करिब ३ हजार किलोमिटर टाढा रहेको बताइन्छ।

नास्टले केही समयअघि गरेको नमूना अनुसन्धानमा काठमाडौं उपत्यकाको प्राकृतिक विकीरणको मात्रा शून्य दशमलव २ माइक्रोसिवर्ट प्रतिघण्टा थियो। तर बुढानीलकण्ठ, नुवाकोटको ककनी आसपासका क्षेत्रमा युरेनियमको मात्रा तुलनात्मक रूपमा केही बढिरहेकाले ती क्षेत्रको वातावरणीय विकीरणको मात्रासमेत अन्यत्रको भन्दा बढी पाइएको नास्टका अधिकारीहरू बताउँछन्।
पृथ्वीको भित्री तथा बाहिरी सतहमा रहेको युरेनियम अर्थात् न्युक्लियर पदार्थ आणविक भट्टीहरूमा इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ।

साथै स्वास्थ्य संस्थाहरू गरिने एक्सरे र क्यान्सर रोग पहिचान र निदानमासमेत सो पदार्थ प्रयोग गरिन्छ। भूकम्प, सुनामी, बाढी, पहिरोजस्ता प्राकृतिक घटनासँगै मानवीय गतिविधिले आणविक भट्टीमा पुर्याउन सक्ने क्षतिले न्युक्लियर पदार्थ चुहावट हुने संभावना उच्च रहन्छ। सन् २०११ मा जापानको फुकुसिमामा सुनामीले पावर प्लान्टमा क्षति पुर्याएपछिको असर विश्वका अधिकांश मुलुकहरूमा परेको अझै स्मरण गरिन्छ। नेपालमा गत वर्ष उपल्लो मुस्ताङमा युरेनियम भण्डार रहेको पुष्टी भएपछि सो क्षेत्रको सुरक्षा जिम्मा नेपाली सेनाले सम्हालेको छ।

यसैबीच छिमेकी मुलुकबाट नेपालमा भित्रिने विकीरण मात्रा र मुलुकभित्रै विकीरण चुहावटको सूचना संकलन गर्न मुलुकका विभिन्न ठाउँमा विकीरण मापन स्टेसन स्थापना गरिँदै छ। अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) को आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वदेखि पश्चिम क्षेत्र समेटिने गरी ५ देखि ७ वटा स्टसन स्थापनाको पहल अघि बढाइएको छ।

अस्ट्रेलियाको भियनामा मुख्यालय रहेको आईएईए यस विषयको नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय हो। जल तथा मौसम विज्ञान विभाग मातहत रहने गरी स्टेसन स्थापनाको कार्य अघि बढेको सो विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिनुभयो।

विकीरणको मात्रा र विकीरणले जनस्वास्थ्यमा पुर्याउन सक्ने संभावित जोखिमको अवस्था गृहमन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सम्प्रेषण गर्ने गरी स्टेसन स्थापना उहाँले बताउनुभयो। करिब ५ करोड २७ लाख रुपियाँभन्दा बढीको स्टेसन सामग्री र दुईवटा मोबाइल उपकरण आईएईएले सहयोग गर्ने निधो भएको बताउँदै महानिर्देशक शर्माले भन्नुभयो– ‘बजेटले भ्याएसम्म ५ देखि ७ स्टेसन स्थापना गरिनेछ, स्टेसन कहाँ राख्ने भन्नेबारे केही दिनमा टुङ्गो लाग्नेछ।’

हाल सञ्चालनमा रहेका मौसम मापन केन्द्र परिसरमा त्यस्ता उपकरण जडान गरिने भएकाले आईएईएको सहयोग पर्याप्त हुनसक्ने उहाँको आंकलन छ।

प्रतिक्रिया दिनुहोस्