नयाँ प्रधानमन्त्रीको कार्यभार



पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिएको र दोस्रो चरणको निर्वाचन भई नसकेको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो मंगलबारबाट मुलुकको ४० औं प्रधानमन्त्री हुनुभएको छ । करिब ७ दशकदेखिको राजनीतिक आन्दोलनको परिणामको रुपमा संविधानसभाबाट संविधान बने पनि सबैलाई स्वीकार्य नभइरहेको अवस्था र यसको कार्यान्वयनमाथि प्रश्न उब्जिइरहेको चुनौतीपूर्ण समयमा उहाँ प्रधानमन्त्री हुनुभएको छ ।

विगतमा तीन पटक प्रधानमन्त्री भइसक्नुभएका देउवा अहिले चौथो पटक प्रधानमन्त्री हुनुभएको हो । विगतका उहाँका कार्यकाल भने कतिपय हिसाबले निकै विवादास्पद रहँदारहँदै पनि अब विगतका गल्ती उहाँले नदोहोर्याउने अपेक्षा गरिएको छ । त्यति बेलाको राजनीतिक संरचना फरक थियो र अहिलेको संरचना त्यो भन्दा पृथक् रहेको छ । पहिला तत्कालीन राजाबाट अक्षम भनेर बर्खास्त हुनुभएका उहाँ स्वयंका लागि पनि अब त्यो पगरी सदाका लागि बिर्सने बनाउनका लागि राम्रो काम गर्नै पर्ने बाध्यता रहेको छ । उहाँ व्यक्तिगत लाभ–हानितर्फ नलागी समग्रमा मुलुक र जनताको हितमा लाग्ने अपेक्षा सबैबाट गरिएको छ । र, त्यसलाई नवनियुक्त प्रधानमन्त्रीले बिर्सन मिल्दैन ।

उहाँको अबको कार्यभार संविधानमा सबै पक्षको अपनत्व बढाउँदै दोस्रो चरणको स्थानीय तह र त्यसपछि प्रदेश तथा संसदीय निर्वाचन आगामी माघ ७ गतेभित्र गराउनु नै हो । त्यो कार्यभार पूरा गर्न सक्नुभएमा उहाँको टाउकोमा विगतमा लागेको अक्षमको पगरी सदाका लागि फालिनेछ । तर, सो समयमा चुनाव हुन सकेन भने अझै गम्भीर खालको अक्षमको पगरी उहाँलाई जनताले नै लगाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले देउवाको कार्यकाल निकै चुनौतीपूर्ण पनि रहेको छ । आफ्ना व्यक्तिगत लाभ–हानि र पारिवारिक जन्जालका कारण उहाँ विगतमा बदनाम हुने गर्नुभएकोमा अब त्यस खालको मोह त्यागेर जीवनको उत्तराद्र्धमा रहेका देउवाले समग्रमा नै आफूलाई मुलुकको हितमा केन्द्रित गर्न सक्नुपर्दछ ।

फेरि पनि पुरानै गल्ती उहाँबाट दोहोरियो भने व्यक्तिगतरुपमा उहाँ स्वयंलाई र सामूहिक रुपमा मुलुककै लागि घातकसिद्ध हुनेछ । विगतमा जस्तो उहाँले निजी लोभलालचमा नलागी मुलुकको लागि सकारात्मक सोच राख्ने काम गर्नुहुनेछ भन्ने अहिलेलाई अपेक्षा गरौं । यसबाहेक उहाँलाई प्रधानमन्त्री बन्नका लागि ठूलै समर्थन संसद्मा पनि मिलेको छ । त्यस्तै संसद्मा विपक्षीको पनि ठूलै उपस्थिति रहेकाले मुलुक बनाउने कामका लागि उहाँले आफूलाई मत हाल्ने मात्रै होइन, विपक्षीको पनि रचनात्मक सहयोग लिएर अघि बढ्नु जरुरी रहेको छ ।

उहाँको तुरुन्तैको पहिलो कार्यभार भनेको शान्तिपूर्णरुपमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु हो । अबको केही सातापछि नै सो निर्वाचनको लागि तिथी तय भइसकेकोले नयाँ प्रधानमन्त्रीले त्यसका लागि तत्काल कदम चाल्नु जरुरी रहेको छ । हामीकहाँ रहेको प्रचलन के देखिँदै आएको छ भने, प्रधानमन्त्री बनेपछि को मन्त्री बनाउने र कसले कुन मन्त्रालय पाउने भन्ने बारेमा लामो समयसम्म झगडा हुने गर्दछ । तर दोस्रो चरणको निर्वाचन आइसकेकाले फेरि कुन मन्त्रालय कसलाई दिने भनेर झगडा गर्दै जग हँसाउने समय उहाँलाई छैन । कुन पार्टीले कुन मन्त्रालय लिने र कुन व्यक्तिलाई कुन मन्त्री बनाउने भन्ने बारेमा झगडा गरेर बिताउने काम भयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । त्यसैले तत्काल सानो मन्त्रिमण्डल बनाएर दोस्रो चरणको निर्वाचन गराई मन्त्रिमण्डल विस्तार गर्दै प्रदेश र केन्द्रीय निर्वाचन गर्नेतर्फ उहाँ अघि बढ्नुपर्दछ । ४० औं प्रधानमन्त्री देउवालाई कार्यकालको सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्