मानव तस्करीको जालो



भारतको दिल्ली हुँदै खाडी मुलुक जान लागेका २४ जना नेपाली महिलालाई भारतको दिल्लीबाट उद्धार गरिएको छ। वैदेशिक रोजगार दलालको प्रलोभनमा परेर दिल्ली हुँदै कुवेत तथा दुबई जाने तयारीमा रहेका महिलालाई दिल्लीस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो। नयाँदिल्लीको उत्तमनगरस्थित एक फ्ल्याटबाट भारतीय प्रहरीले उद्धार गरिएका महिलालाई दूतावासले गत बुधबार साँझ नेपाल पठाएको छ।

उद्धार गरिएका महिला माइती इन्डियामार्फत् नेपालगन्जस्थित माइती नेपाल र नेपाल प्रहरीलाई बुझाइएको छ। सबैलाई अहिले माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा राखिएको छ। उद्धार गरिएका मध्ये अधिकांश सिन्धुपाल्चोक र मकवानपुरका छन् भने अन्य नुवाकोट, चितवन, तेह्रथुम, धनकुटा र झापाका भएको बताइएको छ। दलालले घरेलु कामदारका लागि भन्दै खाडी मुलुक लैजाने क्रममा विगत १५ दिन, १ महिना र सोभन्दा लामो समयदेखि दिल्लीमा राखेको दूतावासले जनाएको छ।

सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन रोक लगाएपछि दलालले सीमानाका हुँदै तेस्रो मुलुकसम्मको पहुँच बढाएका छन्। प्रहरीको अनुसार उद्धार गरिएका महिलालाई भैरहवा, नेपालगन्ज, सुनौली र रक्सौल नाका हुँदै दिल्ली पुर्याइएको थियो। रमेश थापा र विजय मल्ल नामका व्यक्तिले आफूहरूलाई विभिन्न प्रलोभनका साथ दिल्ली पुर्याएको उद्धार गरिएका महिलाले बताएका छन्। २४ मध्ये ७ जनाबाहेक अन्य सबै विवाहित छन्। उद्धार गरिएका महिला २० देखि ४० वर्ष उमेर समूहका भएको बताइएको छ।

केही महिला भने यसअघि पनि खाडी मुलुकमा रोजगारमा पुगेर फर्किएका पनि छन्। विगतमा खाडी मुलुक पुगिसकेकाहरू पनि यसरी दलालको प्रलोभनमा पर्नु चेतनास्तर निकै कमजोर रहेको पुष्टि हुन्छ। कतिपय महिला भने खाडी मुलुकको प्रलोभनमा भारतीय बेश्यालयमा पुग्ने गरेको सरोकारवाला निकायका प्रतिनिधि बताउँछन्। पछिल्लो समयमा अन्य नाकाका अतिरिक्त समयमा दलालको रोजाइमा नेपालगन्ज र बर्दियाको बलैगाउँ बढी प्रयोग हुन थालेको प्रहरीको ठहर छ। मानव बेच–विखन सहित अन्य गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा निकाय र अन्य संघ–संस्थाले निगरानी जारी राखे पनि दलालको चतुर्याइँ निकै बढेको प्रहरीको तर्क छ।

सीमा क्षेत्रबाट किनमेलको बहाना बनाएर दलालले नाका कटाउने गरेकाले प्रलोभनमा परेकाहरूलाई पहिचान गर्न गाह्रो भएको माइती नेपाल र अन्य संघ–संस्थाका अधिकारी बताउँछन्। यसरी दलालले आफ्ना गतिविधि सक्रिय बनाइ रहेका बेला सञ्चारसहित अन्य स्रोत साधन सम्पन्न नेपाल–भारत दुवैतर्फका सुरक्षा निकायबीचको गतिलो समन्वय आवश्यक देखिएको छ। यससँगै माइती नेपालसहित अन्य संघ–संस्थाले थप निगरानी बढाउनै पर्छ। सम्बद्ध सरोकारवालाहरूले विमानस्थल र मुख्य सीमा नाका मात्र होइन, अन्यत्र पनि प्रभावकारीरूपमा हातेमालो बढाउनुपर्ने आवश्यकता खट्किएको छ।

प्रतिक्रिया दिनुहोस्