सेवाग्राहीलाई नसताउ



पहिलो चरणको निर्वाचन भएको क्षेत्रका सरकारी कार्यालयहरुमा स्थानीय निर्वाचन भएको एकसाता अघिदेखि भएको ढिलासुस्ती अझै कायम छ । सेवाग्राहीहरु सरकारी कार्यालय जादा कर्मचारी भेटिँदैनन् । अझै पनि सरकारी कार्यालयमा मत गणना भइरहेको र कर्मचारी चुनावमा खटिएको भन्दै सेवाग्राहीहरुलाई फर्काइने गरिएको छ। निर्वाचन सम्पन्न भएको आज चार दिन भइसक्यो । पूरा मत परिणाम आउन अझै कम्तिमा एक साता लाग्ने देखिन्छ । सरकारी काम कहिले जाला घाम भनेझै निर्वाचनको निहु गरेर सेवाग्राहीको काममा ढिलासुस्ती भइरहेको बारे सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

करिब एक तिहाइ स्थानीय तहमा भएको निर्वाचनले दुईसातासम्म सरकारी निकायमा सेवाग्राहीको काम कारवाही प्रभावित हुन्छ भने दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा १ महिना सरकारी कार्यालयहरुमा काम कारवाही प्रभावित हुने देखिन्छ । मतगणना भइरहेको नगरपालिकाहरुमा सेवाग्राहीले सेवा पाउनु त परैको कुरा उनीहरु गेटबाट भित्र छिर्नसमेत पाएका छैनन्। निर्वाचन आयोग, सुरक्षा निकाय तथा सम्बन्धित नगरपालिकाहरुले समन्वय गरेर मत गणना गर्दा पनि सेवाग्राहीको काम प्रभावित नहुने गरी व्यवस्था नमिलाउँदा नगरपालिकाहरुमा यस्तो भएको हो । निर्वाचनको समयमा खटिएका कर्मचारीहरु अझै फर्किएका छैनन् ।

दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हँुदै छ । दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा करिब दुई तिहाइ स्थानीय तह छन् । अब एक सातापछि देखि यी जिल्लाका सरकारी कर्मचारीहरु पनि निर्वाचनमा खटिनेछन् भने मत परिणाम आउन यहाँ पनि करिब दुई साता लाग्नेछ । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा पनि सरकारी कार्यालयमा सेवाग्राहीको काम १ महिना ढिलासुस्ती हुने सम्भावना छ । निर्वाचनको समयमा हुने सरकारी कार्यालयको ढिलासुस्ती हटाउन र सेवाग्राहीलाई समयमै सेवा प्रभाव गर्ने व्यवस्था मिलाउन तथा छिटो मतगणना गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायले अहिले देखिनै ध्यान पुर्याउनुपर्छ ।

चुनाव एउटा महाउत्सव भएको कुरा निर्विवाद सत्य हो। तर, यसको बहानामा जनतालाई अप्ठेरोमा पार्न पाइँदैन। उनीहरुले आफ्नो काम सहज ढंगले गराउन पाउनुपर्दछ। सेवाग्राही अहिले कार्यालयमा पुग्दा पनि कर्मचारीहरु चुनावी चर्चामा नै रहेको देख्न सकिन्छ। यसरी मुलुकमा भएका कुनै घटनाको कारण दैनिक गतिविधि लामो समयसम्म प्रभावित हुने परिपाटी राम्रो होइन । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् । सेवाग्राहीले सताउने कार्य बन्द गरियोस् ।

प्रतिक्रिया दिनुहोस्