विवेक प्रयोग गर्न नचुकौं



झण्डै दुई दशकपछि नेपाली जनतालाई स्थानीय तहको निर्वाचनमा आज मतदान गर्ने अवसर जुरेको छ । जनता सार्वभौमसत्ता सम्पन्न हुँदाहुँदै पनि यो अधिकार प्रयोग गर्ने समय भने जनतालाई निर्वाचनको बेलामा मात्रै जुर्ने गरेको छ । अरुबेला उनीहरुले चुनेका प्रतिनिधिहरुले जनताको त्यो अधिकार प्रयोग गर्ने गरेका छन् । तर, जनप्रतिनिधिहरुले उपयोग गरेको जनअधिकार कहिलेकाहीँ गलत ढंगले प्रयोग हुँदै आएको समेत हामीले देखेका छौं । त्यसैले जनमत प्रयोग गर्दा यसपालि निकै नै होसियारी अपनाउनुपर्ने चुनौतीसमेत जनतासमक्ष तेर्सिएको छ ।

अन्तिम अवस्थासम्म होला कि नहोला भन्ने अवस्थामा भए पनि पहिलो चरणअन्तर्गत आज ३४ जिल्लामा मतदानको अवसर उपलब्ध छ । मतपत्रमा केही असजिलो भए पनि समय लगाएर आफूले चाहेको दल वा उम्मेदवारलाई मतदान गर्ने अवसर जनतालाई प्राप्त हुनु आफैमा खुसीको खबर हो । हामीले स्थानीय निर्वाचनका लागि धेरैअघि मत हालेका थियौं । यसबीचमा मेची र महाकालीमा धेरै पानी बगिसकेको छ । थुप्रै उपलब्धि पनि हासिल भएका छन् र साथसाथै समस्या पनि बग्रेल्ती थपिएका छन् । हामीले झण्डै सात दशक संविधान बनाउने नाममा खर्च गर्यौं । संविधानका नाममा ठूला आन्दोलन पनि भए । बल्ल बल्ल संविधान बनायौं तर त्यही संविधान ठीक भयो र भएन भन्ने खेमामा विभाजित भएर हामीले फेरि झगडा शुरू गरेको र त्यो झगडा अन्त्य भइनसकेको अवस्थामा हामी स्थानीय निकायका लागि नेता चुन्न मतदान गर्दैै छौं ।

यो मतदानले मुलुकलाई दीर्घकालीनरूपमा केही न केही पाठ पढाउने छ भन्ने सर्वत्र अपेक्षा गरिएको छ । हामीले विगतमा लिएका नीति तथा कार्यक्रम ठीक थिए कि थिएनन् भन्ने परीक्षण गर्ने एउटा सूचकका रुपमा समेत विश्वले नै नेपालको स्थानीय निर्वाचनलाई नजिकबाट हेरिरहेको बुझ्न सकिन्छ । त्यसैले जनताले आफ्नो अभिमत विवेक पुर्याएर प्रकट गर्नु जरुरी रहेको छ । विगतका बाचा बन्धन पूरा भए⁄नभएको र अब हुन्छन् भन्ने ग्यारेन्टी कसले गर्यो या गरेन मात्रै होइन, त्यो गरिने आधार के हो भन्ने बारेमा प्रस्ट भएपछि मात्रै उपयुक्त पात्रलाई मतदान गर्नु जरुरी रहेको छ । जनतालाई नेता छान्ने यो सुनौलो अवसर पनि हो । यसमा गल्ती नगरौं । सधैंभरि ‘चुनावमा गल्ती गरिएछ’ भन्दै पछि गुनासो गर्दै हिँड्ने मौका नमिल्न पनि सक्छ । हामीले पनि सही गर्दै छौं कि गलत गर्दै छौं भन्ने कुरा दशपटक सोच्न जरुरी रहेको छ । हाम्रो एउटा सानो गल्तीले गलत व्यक्तिलाई मतदान गरियो भने त्यसले हामीले सोचेको समृद्धि ल्याउन सक्दैन । अब हामीलाई आपसी खिचातानी, झगडा भन्दा पनि समृद्धि चाहिएको छ । हाम्रो देश नेपालभन्दा पनि धेरै पछि स्वतन्त्र भएका दक्षिण एसियाकै कतिपय मुलुकले अहिले विकासमा फड्को मारिसकेका छन् । तर, हामी भने राजनीतिक झगडामा नै व्यस्त भइरहेका छौं ।

हामीलाई अहिले मुलुकलाई एकत्रित ढंगले अघि बढाउन सक्ने नेतृत्व चाहिएको छ । त्यसैले ‘जति भोट हाले पनि केही हुने होइन’ भनेर निराशा व्यक्त गर्दै मतदान कार्यबाट बाहिर बस्ने गल्ती नगरौं । किनकि हाम्रो मुलुक प्रचुर सम्भावना बोकेको मुलुक हो र जनताले चाहेमा वा निर्णय गर्ने समयमा उपयुक्त निर्णय गरियो भने मुलुकको कायापलट हुन पनि बेर लाग्दैन । हाम्रो एउटा मतले मुलुक बदल्न सक्ने क्षमता राख्दछ । त्यसैले आफ्नो विवेकको उपयुक्त ढंगले प्रयोग गर्ने यो अवसर कसैले पनि नगुमाऔं ।

प्रतिक्रिया दिनुहोस्