डीफोइको अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन



लन्डन, (एजेन्सी)
इंग्ल्यान्ड स्ट्राइकर जेर्मेन डीफोइले गोलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेका छन् । उनको गोलको अग्रता लिएको इंग्ल्यान्डले विश्वकप छनोट अन्तर्गत समूह एफ को लिथुआनियाविरुद्धको खेलमा २–० को जित निकालेको छ ।

भेटेरान झण्डै साढे ३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका डीफोइले २१औं मिनेटमा गोल गरेका थिए । वेम्बलीको घरेलु मैदानमा भार्डीले ६६औं मिनेटमा गोल गरेपछि इंग्ल्यान्डले समूहमा १३ अंकसहित शीर्ष स्थान बनाएको छ । टोली स्लोभेनिया भन्दा पाँच अंकले अगाडि छ ।

यस्तै आईतबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह सी को खेलमा विश्व विजेता जर्मनीले अजरबैजानलाई ४–१ ले हरायो । यो जितसँगै जर्मनी समूहमा दोस्रो स्थानको चेक रिपब्लिक (८ अंक) भन्दा सात अंकले अगाडि रहेको छ ।

जर्मनीको जितमा एन्ड्रे सर्ले, थोमस मुइलर र मारियो गोमेजले गोल गरेर पहिलो हाफमा ३–१ को अग्रता दिलाए । त्यस्तै दोस्रो हाफमा सर्लेले एक गोल थपेका थिए ।

यससँगै विश्वकप छनोटको यात्रामा जर्मनीको लगातार ४४ खेलमा अपराजेय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्