रकिबको उपाधि नजिकिँदै



नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनसिपको उपाधि होडमा नजिकिएका छन्।

नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसिपअन्तर्गत आइतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले पूर्व नेपाल च्याम्पियन क्यान्डिडेट मास्टर केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ अंक बनाए। सोमबार हुने अन्तिम चरणको खेलमा बराबरीको नतिजा आत्मसात गर्न सके रकिबले उपाधि हात पार्ने निश्चितसमेत बनेको छ।

अर्का बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) आफ्नै देशका इन्टरनेसनल मास्टर आवु सुफिन साकिल (२३४३) लाई पराजित गर्दै ६ दशमलव ५ अंकका साथ रकिबलाई पछ्याइरहेका छन्। उता पहिलो बोर्डमा रकिबको पराजय र दोस्रो बोर्डमा रहमानको जितले डिफेन्डिङ च्याम्पियन समेत रहेका रहमानलाई समेत उपाधि दिलाउने समीकरण बनेको छ।

नेपालका हिमाल लामा र भगवतीप्रसाद शर्मा तथा श्रीलंकाली कालुगाम्पिटिया आर एस क्यान्डिडेट मास्टरको उपाधिसमेत प्राप्त गर्न सफल भए। आठौं चरणको खेलमा २०८१ रेटेड हिमालले वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थलाई बराबरीमा रोक्दै ४ दशमलव ५ अंकका साथ क्यान्डिडेट मास्टरको उपाधि पक्का गरेका हुन्। त्यस्तै १८४८ रेटेड भगवतीप्रसादले माल्दिभ्सका अहमद अमान इब्राहिमलाई तथा २०९९ रेटेड कालुगाम्पिटियाले नेपालका सुमित पन्त (१९३५) लाई हराउँदै आ–आफ्नो उपाधि पक्का गरे।

बंगलादेशी ग्रान्ड मास्टर नियाज मुर्सिद (२४२२) आफ्नै देशका फिडे मास्टर साइद रहमान मफुजुर (२२५०) लाई हराउँदै ६ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेका छन्। त्यस्तै अर्का बंगलादेशी ग्रान्ड मास्टर इनामुल हुसेन (२४७४) ले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली (२००९) लाई पराजित गर्दै ५ अंक बनाए। उता बंगलादेशी फिडे मास्टरद्वय हसन मेहेदी (२२६३) र मोहम्मद रहमान तैवुर (२३४१) बीचको स्पर्धामा मेहेदीले सफलता हात पारे।

नेपालका केशव श्रेष्ठ, बंगलादेशका इनामुल हुसेन तथा हसन मेहेदी र श्रीलंकाली कालुगाम्पिटिया समान ५–५ अंकमा रहेका छन्। बंगलादेशका साकिल तथा मफजुर, नेपालका मदककृष्ण, हिमाल तथा भगवतीप्रसाद समान ४ दशमलव ५ अंकमा रहेका छन्।

बंगलादेशका मोहम्मद रहमान तैवुर, नेपाली फिडे मास्टर मनीष हमाल, क्षितिज भण्डारी, बद्रीलाल नेपाली, सुमित पन्त, सुमन राई तथा मिलन लामा समान ४–४ अंकमा रहेका छन्। त्यसै गरी नेपालका क्यान्डिडेट मास्टर भूपेन्द्र निरौला, नवीन तण्डुकार तथा राजेन्द्रकुमार पराजुली र माल्दिभ्सका अनरेटेड अहमद अमान इब्राहिमको समान ३ दशमलव ५ अंक रहेको छ।
महिला प्रतिस्पर्धा रोमाञ्चक बन्दै
एसियन जोनल चेस च्याम्पियनसिपको महिलातर्फको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। सातौं चरणसम्म अपराजित ७ अंक बटुलेकी बंगलादेशकी वुमन इन्टरनेसनल मास्टर रानी हमिद आइतबार भएको आठौं चरणको खेलमा आफ्नै देशकी वुमन फिडे मास्टर सुल्ताना सरमिन सिरिनसँग पराजित भएपछि उपाधि होड खुला भएको छ। रानीसँगै समिमा अख्तरको पनि समान ७ अंक भएको छ। डिफेन्डिङ च्याम्पियनसमेत रहेकी बंगलादेशी वुमन इन्टरनेसनल मास्टर समिमाले आठौं चरणमा नेपालकी पुनम प्रसाईंमाथि सहज जित हात पारिन्।

श्रीलंकाली सौम्य जैनव तथा बंगलादेशी वुमन फिडे मास्टर नजराना खान समान ५–५ अंकमा रहेका छन्। त्यस्तै बंगलादेशी सुल्ताना सिरिन र समिमा सिम्मी सरिनको समान ४ दशमलव ५ अंक भएको छ।

नेपालकी शान्ता थापा तथा सविना श्रेष्ठ आ–आफ्नो खेल जित्दै समान ४–४ अंक बनाउन सफल भए। १६२६ रेटेड शान्ताले नेपालकै मतिना कुसी (१७०१) तथा १४०५ रेटेड सविनाले अर्की नेपाली खेलाडी सिन्दिरा जोशी (१६२५) लाई हराए। च्याम्पियनसिपअन्तर्गत सोमबार नवौं चरणका खेलहरू हुनेछन्।

प्रतिक्रिया दिनुहोस्