रकिबको एकल अग्रता



काठमाडौं, (नेस)

बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता लिएका छन्। शुक्रबार सम्पन्न छैटौं चरणमा आफ्नै देशका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) लाई हराएका रकिबको ६ खेलबाट ५ अंक भएको छ। छैटौं चरणमा उत्कृष्ट प्रदर्शन गरी अपराजित रहेका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठ तथा नेपालकै उदियमान युवा खेलाडी सुमित पन्त समान ४–४ अंक बनाई संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन्। २०७७ रेटेड केशवले बंगलादेशका फिडेमास्टर हसन मेहेदी (२२६३)सँग जितको नजिक पुगेर पनि बराबरीमा चित्त बुझाउनुपर्यो।

त्यसैगरी वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ (२०९९) र सुमित पन्त (१९३५) बीचको रोमाञ्चक खेल पनि ७७ औं चालमा पुगेर बराबरीमा टुंगियो। नेपालका हिमाल लामा (२०८१) र बंगलादेशका ग्रान्डमास्टर नियाज मुर्सीद तथा फिडेमास्टर मोहम्मद तैवुर रहमान (२३४१) को पनि समान ४–४ अंकमा रहेका छन्। हिमालले माल्दिभ्सका अनरेटेड अहमद इब्राहिम अमनलाई पराजित गरेभने तैवुरले श्रीलंकाली कालुगाम्पिटीया आर एस (२१२९) लाई हराए।

नेपालका फिडेमास्टर मनिष हमाल (२०५२), नेपालका क्यान्डिडेटमास्टरद्वय मदनकृष्ण कायस्थ तथा क्षितिज भण्डारी (२०३६), ३ दशमलब ५ अंकमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्