ब्राजिल र अर्जेन्टिनाको जित



लन्डन, (एजेन्सी)

विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहको छनोट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्।

शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले उरुग्वेलाई ४–१ ले तथा अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको हो। खेलमा ब्राजिललाई विजयी दिलाउन पाउलिन्होले ह्याट्रिक गर्नुका साथै नेयमारले एक गोल थपेका थिए। उरुग्वेको सेन्टेनारियोमा भएको उक्त खेलको नवौं मिनेटमा एडिसन काभानीको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। तर खेलको १९औं मिनेटमा पाउलिन्होको ब्राजिलको तर्फबाट गोल फर्काएपछि पहिलो हाफसम्म दुवै टोली १–१ गोलको बराबरीमा रोकिएको थियो।

खेलको ५१औं मिनेटमा पाउल्निहोले ब्रजिलका लागि दोस्रो गोल गर्दै ब्राजिललाई २–१ ले अघि पारे। यस्तै खेलको ७४औं मिनेटमा नेयेमारले गोल गर्दै ब्राजिलको गोलसंख्या तीन पुर्याए। खेलको ९०औं मिनेटमा पाउलिन्होले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले ४–१ को जित दर्ता गराए।

शुक्रबार बिहानै भएको अर्को खेलमा अर्जेन्टिनाले पनि चिलीलाई १–० ले हराएको छ। आफ्नै मैदानमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेसीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक साबित बन्यो। यसैगरी कोलम्बियाले बोलिभियालाई १–० ले हराउँदा पाराग्वेले इक्वेडरलाई २–१ ले पराजित गर्यो। भेनेजुएला र पेरुले भने २–२ गोलको बराबरीमा चित्त बुझाए।

शुक्रबारको खेलहरूपछि विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहको अंक तालिकामा १३ खेलबाट ३० अंक जोडेको ब्राजिल शीर्ष स्थानमा छ। समान खेलबाट २३ अंक जोडेको उरुग्वे दोस्रोमा रहँदा तेस्रो स्थानको अर्जेन्टिनाको २२ अंक भएको छ।

यस्तै २१ अंक जोडेको कोलम्बिया चौथो स्थानमा तथा पाँचौ स्थानको इक्वेडरको २० अंक भएको छ। यस समूहबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। ब्राजिलको लगभग विश्वकप यात्रा तय बन्दै गएको छ भने अर्जेन्टिनालाई विश्वकप पुग्न बाँकी खेलहरू जित्नै पर्ने दबाब बढेको छ।

चीनद्वारा दक्षिण कोरिया पराजित

आगामी सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलअन्तर्गत एसिया महादेशतर्फ छनोट चरणमा चीनसँग दक्षिण कोरिया पराजित भएको छ।
दक्षिण कोरियालाई हराउँदै चीनले पहिलो जित दर्ता गरेको हो। घरेलु मैदानको फाइदा उठाउँदै चीनले दक्षिण कोरियालाई १–० ले हराउन सफल भयो। जितपछि चीन विश्वकप फुटबल छनोट एसियाली समूह ‘ए’ को अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। खेलको ३४औं मिनेटमा यु डाबावोले गरेको हेड गोल नै चीनको जितका लागि पर्याप्त बन्यो।

एसिया महादेसबाट समूहका शीर्ष र उपविजेता टोली गरी चार टोलीले विश्वकपमा छनोट हुने प्रावधान रहेको छ। समूह ए मा इरान १४ अंक र दक्षिण कोरिया १० अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तर उज्बेकिस्तान ९ अंकसहित तेस्रो स्थानमा र सिरिया ८ अंकका साथ चौथो स्थानमा रहँदा चीन १० मध्ये ६ खेल सकिँदा ५ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ।

छनोटअन्तर्गत नै एसियाली समूह ‘बी’ का खेलमा साउदी अरेबिया र जापानले जितको नतिजा निकालेका छन्। साउदी अरेबियाले थाइल्यान्डमाथि ३–० को जित दर्ता गर्दा जापानले युएईलाई २–० ले पराजित गरे। यस्तै अस्ट्रेलिया र इराकले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। यस समूहको ६ खेलपछि समान १३ अंक जोडेको साउदी अरेबिया र जापान शीर्ष दुई स्थानमा रहँदा १० अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्