फुटबलर व्यवसायमा लागे



रमेश समदर्शी, बिर्तामोड

फुटबल मैदानमा भेटिने झापाका दुई परिचित खेलाडी अहिले बिर्तामोडको हनुमान सेन्टरमा भेटिने गरेका छन् । मैदानमा जर्सी, बुटसहित फुटबल खेल्न तम्तयार देखिने झापा ११ का मिडफिल्डरहरु नगेन लिम्बू र योगेश गुरुङलाई हनुमान सेन्टरमा त्यस्तै, जर्सी, बुट, बल लगायत खेल सामग्री बिक्री गर्दै गरेको अवस्थामा भेट्न सकिन्छ ।

नगेन र योगेशसँगै अर्का फुटबलर भुपेन लिम्बूको साझेदारीमा ‘स्पोर्टस् आइटम’को व्यापार गर्न उनीहरु कस्सिएका हुन् । उनीहरुले हनुमान सेन्टरको पहिलो तलामा नेभर इन्डिङ्ग वेयरएवल सप्लाइ ‘न्यूज’ नाम दिएर एक महिना अघिदेखि पसल सञ्चालनमा ल्याएका छन् । ‘खेल जीवनबाट टाढिन खोजेको चाहिँ होइन’, नगेनले भने, ‘फुटबलको रिटार्यड लाइफ विजनेसमा लगाउने सोच हो ।’

करिब ७ वर्षजति हङकङमा बसेर नेपाल फर्केका नगेनले अहिले पनि झापा ११ र बिर्तामोड युनाइटेडबाट फुटबल खेलिरहेका छन् । त्यस्तै, योगेश पनि खेल जीवनमै छन् । दुवैले फुटबलको भविष्य राम्रो देखेका छन् । उनीहरु भन्छन्, ‘पछिल्लोपटक फुटबलको विकास भएर खेलाडी बाँच्ने आधार बनेको छ तर सबै खेलाडी खेलेरै बाँच्छन् भन्ने छैन ।’

खेल जीवनबाट एकैचोटि व्यापारमा होमिएका यी खेलाडीले करिब ४५ लाख रुपैयाँ लगानी गरेको सुनाए । ‘रिटार्यड लाइफ के गर्ने भन्ने थियो, आपूmले जानेको पनि होइन तर यहाँको आवश्यकता र नयाँ आइटम गर्न स्पोर्टस् हाउस सञ्चालनमा ल्याएका हौँ’, नगेनले भने ।

अहिले उनीहरुको पसलमा एडिडास र नाइक ब्राण्डको सामग्री पाइन्छ । फुटबल खेलाडी भएकाले फुटबलसँग सम्बन्धित खेलमा आवश्यक सबै सामग्री बिक्रीका लागि राखेको योगेशले सुनाए । उनीहरुले १५० रुपैयाँको स्टकिङदेखि १५ हजारबराबरको स्पोर्टस् शु बिक्रीका लागि राखेका छन् ।

फुटबल खेलकै सामग्री पाइने पसल वरपर नभएकाले पनि यो व्यापार रोजेको उनीहरुले सुनाए । ‘एउटा राम्रो सामान किन्नु पर्यो भने काठमाडौँ र सिलिगुडी धाउनुपर्ने अवस्था रहेको थियो’, उनीहरुले भने ।

अन्य पसलको मूल्यभन्दा थोरै भए पनि सस्तो पर्ने उनीहरुको दाबी छ । ‘हामी हङकङ र चीनबाट सामान झिकाउँछौँ’, नगेनले स्पष्ट पार्दै भने, ‘अरुले आयात गर्दा लाग्ने यातायात खर्च हामी जोड्दैनौँ ।’ उनका अनुसार हङकङमा रहेका भुपेनले सोझै सामान नेपाल पठाउने गरेका कारण आवत–जावतको खर्च नजोडिँदा केही सस्तो पर्न जाने रहेछ ।

महिला खेलाडीले प्रयोग गर्ने सामग्री पनि राख्ने जमर्को गरेका उनीहरुले निकट भविष्यमै रेफ्रीको प्रयोगमा आउने सामग्री पनि बिक्रीका लागि राख्ने बताए । ‘महिला खेलाडीको सामान पाउनै मुस्किल पर्छ’, नगेनले भने । यहाँ फुटबल प्लेयरका ‘ए टु जेट’ सामान उपलब्ध छ । ‘आपूm फुटबल खेलाडी परेर होला सबै सामान राखेका छौँ ।’

एक महिनाको अवधिमा गरिएको व्यापारबाट उनीहरु सन्तुष्ट रहेछन् । ‘पहिलो महिना नै तारगेट क्रस गर्यो’, खुसी देखिएका नगेनले भने, ‘सकेसम्म क्रयशक्ति सुहाउँदो स्तरीय सामान बिक्री गर्छौं ।’ अहिले उनीहरुको पसलमा चिनेजानेका साथीहरु नै ग्राहक बनेर आउने गरेका छन् । प्रचारप्रसार नगरेका उनीहरुको पसलमा सोचेभन्दा बढी अपेक्षा राखेका ग्राहक पनि आउने गरेका रहेछन् ।

‘एक जना कस्टमरले सामान मन पराए तर मूल्य सस्तो भो भन्दै किन्न मानेनन्’, नगेनले आश्चर्य व्यक्त गर्दै भने, ‘त्यै सामान महँगो दाममा भनेको भए बिक्री हुने रहेछ ।’ सस्तो मूल्यका सामान कमसल हुन्छ भन्ने मान्यताले गाँजेको नेपाली समाजमा उनीहरु नौलो व्यापारी भने होइनन् ।

नगेनले नेपाली फुटबलमा सन् १९९६ बाट अफिसियल गेम खेलेका हुन् भने योगेशले २०६४⁄०६५ तिर सरस्वती क्लबबाट बी डिभिजनको राष्ट्रिय लिग खेलेर व्यावसायिक खेलाडीको पहिचान बनाएका हुन् । योगेश दुई पटक नेपाली राष्ट्रिय टोलीका सदस्य बने । उनको डेब्यू भने बङ्गलादेशमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्