मैत्रीपूर्ण खेलमा जर्मनी विजयी



लन्डन, (एजेन्सी)
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनीले इंगल्याण्डलाई पराजित गरेको छ ।

जर्मनीको डर्टमण्ड रंगशालामा भएको उक्त खेलमा घरेलु टोलीले १–० को जित निकालेको हो । खेलमा जर्मनीलाई विजयी दिलाउन लुकास पोडोल्स्कीले खेलको ६९औं मिनेटमा गरेको गोल नै निर्णायक साबित बनेको थियो । जर्मनीको राष्ट्रिय टोलीका लागि खेलेको अन्तिम खेलमा पोडोल्स्कीले आकर्षक गोल गर्न सफल भएका हुन् । राष्ट्रिय टोलीका तर्फबाट अन्तिम खेलमा गोल गरेका उनी निक्कै खुसी देखिए ।

उनले भने– ँसिनेमामा जस्तो भयो । यो रात मैले बायाँ खुट्टाको प्रहारमा गोल गरे । शायद मेरो बायाँ खुट्टामा भगवानले शक्ति प्रदान गर्नु भएको थियो । विदाई खेलमा बलियो टोली विरुद्ध आफ्नै गोलमा जितको नतिजाले निक्कै खुसी तुल्याएको छ ।“

यता जर्मनीको जितसँगै इंगल्यान्डका अन्तरिम प्रशिक्षक ग्यारेथ साउथगेटले पहिलो हार बेहोरेका छन् । यसअघिका चार खेलमा साउथगेटको टोली अपराजित रहँदै आएको थियो ।

बुधबार राति नै भएका अन्य अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबल खेलहरुमा चेक गणतन्त्रले लिथुआनियालाई ३–० ले हराँउदा साईप्रसले काजखस्तानलाई ३–१ ले पराजित गर्यो । यसैगरी स्कटल्याण्ड र क्यानाडाले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

प्रतिक्रिया दिनुहोस्