नेपाल र श्रीलंकाबीच टी–२० खेल हुने



नेपाल समाचारपत्र
काठमाडौं
श्रीलंका र नेपालको कूटनीतिक सम्बन्ध स्थापित भएको ६०औं वार्षिकोत्सवको अवसरमा दुई देशबीचको मित्रता अझ घनिष्ठ बनाउने उद्देश्यसहित काठमाडौंमा टी २० क्रिकेट शृंखला हुन लागेको छ।

नेपाली राष्ट्रिय टोली र श्रीलंकाको टोलीबीच हुने क्रिकेट शृंखला नयाँ वर्षमा हुनेछ। जसमा नेपालको तर्फबाट गोर्खा राइनोज र श्रीलंकाको तर्फबाट लंकन लायन्स टोली मैदानमा उतारिनेछ। श्रीलंकाको टोलीमा वर्तमान राष्ट्रिय टोलिका केही सदस्य तथा भेट्रान खेलाडीको सहभागिता हुने आयोजक पेरिविंकल सर्भिसले बुधबार आयोजित पत्रकार सम्मेलनमा जनायो।

नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोगमा हुने शृंखलाको सम्पूर्ण व्यवस्थापन पेरिविंकल सर्भिसले नै गर्नेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजना हुने प्रतियोगिता आगामी वर्षको वैशाख १२ गतेदेखि वशाख १८ गतेसम्म तीन टी २० खेल आयोजना हुनेछन्। जसमा गोर्खा राइनोज राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा तथा लंकन लायन्सको कप्तानी श्रीलंकाका पूर्वकप्तान अरविन्द डी सिल्भाले गर्नेछन्।

शृंखलाका लागि नेपाल भ्रमण गर्ने लंकन लायन्सको टोलीमा वर्तमान श्रीलंकाली टोलीका खेलाडीहरू उपुल थारंगा, रंगना हेराथ, दिल्शान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादारा पनि हुनेछन्।

यसैगरी सनथ जयसूर्यासँगै चामिन्दा भास, रोमेस कालुविथर्ना, उपुल चन्दना, परवेज महरूफ, दिलहारा फर्नान्डो, कौशल्या वैरारत्ने लगायतका पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरूले नेपाली टोली विरुद्ध कीर्तिपुरको मैदानमा खेलेको नेपाली दर्शकले हेर्न पाउनेछन्।

सो प्रतियोगिताबाहेक आयोजकले राष्ट्रिय टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ। त्यस्तै महिला राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापा, नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेत्रहीन क्रिकेट टोलीका पुरुष कप्तान कृतन श्रेष्ठ दुवाल र महिला कप्तान भगवती भट्टराई तथा नेपालका पहिलो आईसीसी प्यानल क्रिकेट अम्पायर बुद्धि प्रधानलाई पनि सम्मान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्