नियमित कप्तान नै आउट



कर्ण तीन वर्षपछि राष्ट्रिय टोलीमा

नेपाल समाचारपत्र,काठमाडौं
आगामी एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको एएफसी एसियन कप २०१९ छनोटका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ।

२० सदस्यीय टोलीमा राष्ट्रिय टोलीका नियमित कप्तान अनिल गुरुङ छनोट हुन असफल भए। तर झापाली स्ट्राइकर कर्ण लिम्बुको भने राष्ट्रिय टोलीमा तीन वर्षपछि फर्केका छन्। उनले सन् २०१४ मा यमनविरुद्ध खेलेपछि राष्ट्रिय टोलीमा अटाउन सकिरहेका थिएनन्। जबकि उनले नेपालका घरेलु प्रतियोगितामा सानदार खेल पस्किरहेको अवस्थामा पनि छनोटकर्ताले उनलाई तीन वर्षपछि सम्झना गरेको छ। नेपालका प्रमुख स्ट्राइकर नवयुग श्रेष्ठ चोटले खेल्न नसकेकाले पनि उनको स्थानमा कर्णले मौका पाएका हुन्।

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योटुकी कोजीले २७ जना खेलाडीबाट २० खेलाडीलाई छनोट गरेका हुन्। जसमा सात जना खेलाडी सो राष्ट्रिय टोलीमा अटाउन सकेनन्। फ्यालिएका खेलाडीहरू अनिल गुरुङ, सुमन लामा, देवेन्द्र तामाङ, एलेन न्यौपाने, राजेन्द्र रावल, मानबहादुर तामाङ र विमल बस्नेत हुन्। नेपालले एएफसी एसियन कप २०१९ छनोटअन्तर्गत पहिलो खेल फिलिपिन्सविरुद्ध खेल्नेछ। २८ मार्चमा हुने सो खेल नेपालले फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेल्नेछ। नेपाली टोलीका कप्तान घोषणा हुन बाँकी छ।

यु–२३ छनोटमा नेपाल समूह ‘डी’ मा
एएफसी यु–२३ च्याम्पियनसिप २०१८ छनोट अन्तर्गत शुक्रबार सार्वजनिक गरिएको ड्रअनुसार नेपाल समूह ‘डी’ मा परेको छ।

नेपालले सो समूहमा यूएई, उज्बेकिस्तान, लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। सहभागी कुल ४० टोलीलाई सो छनोट प्रतियोगितामा १० समूहमा विभाजन गरिएको छ। जसमा समूहका शीर्ष १० र उत्कृष्ट ५ उपविजेता र आयोजक चीनसँगै १६ टोली आगामी वर्षमा हुने मुख्य प्रतियोगितामा सहभागिता जनाउनेछन्।

समूह ‘डी’ अन्तर्गतका खेलहरू जुलाई १९ देखि २३ तारिखसम्म यूएईमा आयोजना हुनेछन्। जसमा नेपालले जुलाई १९ मा आयोजक यूएईसँग पहिलो खेल खेल्नेछ। त्यसपछि नेपालले २१ मा उज्बेकिस्तान र २३ मा लेबनानसँग खेल्नेछ।
चीनले आयोजक राष्ट्र भएकाले सीधै मुख्य प्रतियोगितामा सहभागिता जनाउने पाउनेछ। तर चीनले छनोट चरण खेल्ने चासो राखेकाले यदि चीन समूहमा शीर्ष बनेमा वा उत्कृष्ट पाँचमा परेमा छैटौं उत्कृष्ट उपविजेता टोलीले अन्तिम चरणमा छनोट हुन पाउनेछ।

प्रतिक्रिया दिनुहोस्