ब्याटिङ बलिङ दुवैमा नेपाल अब्बल



जितको खुसीयाली मनाइरहेका नेपाली कप्तान ज्ञानेन्द्र मल्लको टोली । तस्वीरः उजोल डंगोल

नेपाल समाचारपत्र
काठमाडौं
निबारको खेलमा भन्दा सोमबारको खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा चौथो जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले केन्यालाई सात विकेटले सहजै पराजित गरेको हो। नेपालले च्याम्पियनसिपमा नेदरल्यान्डस् र नामिबियापछि केन्यालाई हराउन सफल भयो। नेपाल यो जितसँगै च्याम्पियनसिपमा ८ अंक जोडेर छैटौं स्थानमा यथावत् रह्यो। साथै नेपालले आगामी बंगलादेशमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी हुने सम्भावनालाई कायमै राखेको छ। च्याम्पियनसिपमा शीर्ष चार हात पार्ने टोलीले मात्रै विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने प्रावधान रहेको छ।

केन्यासँगको पहिलो खेल पाँच विकेटले गुमाएपछि नेपालका लागि यो खेल जित्नै पर्ने दबाब थियो। नेपाली खेलाडीमा कोही पनि हेरफेर पनि भएन। ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली शतप्रतिशत सफल पनि बन्यो। केन्यालाई ब्याटिङ, फिल्डिङ र बलिङमा नेपाली टोलीले पूरै नियन्त्रणमा राखेको थियो।

ब्याटिङका क्रममा रहेका दीपेन्द्रसिंह ऐरी। तस्वीरः उजोल डंगोल

उत्कृष्ट बलिङ

टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ४६ दशमलव १ ओभरमा सबै विकेट लिएर १ सय ५५ रनमा रोकेको थियो। तेस्रो विकेटमा गरेको ठूलो साझेदारीलाई छाडिदिने हो भने नेपाली बलरसामु पाहुना टोलीका खेलाडीले एक एक रनका लागि संघर्ष गर्नुपरेको थियो। नेपाली बलरमा मेहबुब आलमले शुरुआतमा र शरद् भेषवाकरकले पछि उत्कृष्ट बलिङको नमुना पेस गरेपछि केन्यामाथि नेपाल हावी बन्यो। विशेष गरी मेहबुबले ७ ओभरमा ५ मेडनसहित ११ रन खर्चेर २ विकेट लिएर उत्कृष्ट स्पेल प्रस्तुत गरे।

मेहबुबले शुरूमै दुई विकेट लिएर केन्याको ब्याटिङलाई सुस्त गतिमा पुर्याएका थिए। १४ रनका लागि दुई विकेट लिएपछि नेपाली बलरले केन्याका ब्याटसम्यानलाई खुल्न नै दिएनन्। पछि सातौं बलरका रुपमा बलिङको जिम्मा पाएका शरद् भेषवाकर तुरुपको एक्का साबित भए। उनले चार विकेट झारेपछि केन्याको २ सय रन कटाउने बचेको आशा पनि सकियो। शरद्बाहेक वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र सागर पुनले एक–एक विकेट लिएका थिए।

प्रभावशाली ब्याटिङ

नेपालले बलिङमा प्रभाव छाडेपछि ब्याटिङमा समेत प्रभावशाली प्रदर्शन गरेको थियो। १ सय ५६ रनको लक्ष्य नेपालका लागि त्यति कठिन भएन। पहिलो खेलमा वर्षाकै कारण नेपालको ब्याटिङ नराम्रो भएको हिजोको खेलले प्रस्ट पनि गर्यो। ३० दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा नेपालले १ सय ६० रन बनाएर लक्ष्य भेटाएको थियो। शरद्ले ११ बलमा २४ रनमा नटआउट इनिङ खेले। शरद्ले आक्रामक ब्याटिङ गर्ने क्रममा गोन्डारियाको एकै ओभरमा तीन चौका तथा नगोचेको लगातार दुई बलमा क्रमशः चौका र छक्का प्रहार गरेका थिए।

नेपालको ओपनिङ भने जम्न नसक्दा नियमित समस्यामा समाधान देखिएन। पहिलो खेलमा झैं सुनील धमला छिट्टै आउट भएका थिए। सुनील अनावश्यक सट प्रहार गरेर १ रन बनाएर आउट भएपछि सागर पुन कप्तान ज्ञानेन्द्रलाई साथ दिन आएका थिए। तर सागर पनि ५ रनमै पवेलियन फर्के। नेपालका लागि १४ रनमा दुई विकेट गुमेको अवस्थामा एक दरो साझेदारी आवश्यक भएको थियो।
जुन आवश्यकतालाई दोस्रो अन्तर्राष्ट्रिय खेल खेलिरहेका दीपेन्द्रले पूरा गरे। ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ११ रनको साझेदारी गरेपछि नेपाली टोलीले आरामका साथ जित हात पार्ने पक्का भएको थियो। ज्ञानेन्द्रले कप्तानी भूमिका निभाउँदै ९३ बलमा ८ चौका र एक छक्का प्रहार गरेर ६४ रनमा नटआउट रहे। दीपेन्द्रले भने ६६ बलमा ८ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए। शरद् र ज्ञानेन्द्रले तीन ओभरमा ३५ रन बटुलेका थिए।

प्रतिक्रिया दिनुहोस्