होमलाललाई लुम्बिनी पिस उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्।

लुम्बिनी पिस म्याराथनको ४२ दशमलव १९५ किलोमिटरको दूरी होमलालले २ घन्टा २२ दशमलव ३६ सेकन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलवस्तु फर्केको दिन अर्थात् फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा पिस म्याराथन आयोजना गरिएको थियो। कुदानबाट शुरू गरिएको उक्त म्याराथन तिलौराकोट, दोहनी हुँदै मायादेवी बगैंचामा पुगेर म्याराथन टुंगिएको थियो।

उक्त दूरी घन्टा २४ दशमलव २४ सेकेन्डमा पूरा गर्दै सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की दोस्रो भए। त्यस्तै नेपाल आर्मीका खगेन्द्र भाटले तेस्रो स्थानमा चित्त बुझाए। उनले २ घन्टा २४ दशमलव ४१ सेकेन्डमा दौड पूरा गरे। विजेता होमलालले १ लाख नगद हात पारे। दोस्रो हुनेले ७५ र तेस्रो हुनेले ५० हजार रुपियाँ प्राप्त गरे।
‘म पहिले अल्टा रनर थिएँ। म्याराथनको ट्रेनिङ गरेको २ वर्षअघिबाट हो। बुद्ध जन्मस्थलमा आएर उपाधि जित्दा खुसी लागेको छ –होमलालले भने। उनले जितसँगै मुलुकमा दिगो शान्ति स्थापनाका लागि बुद्धसँग प्रार्थना गरेको सुनाए।

बुद्धिस्ट सर्किट्स डट कम र एडभेन्चर स्पोर्टस् टुरिजम सोसाइटीले संयुक्तरूपमा आयोजना गरेको पर्यटनमूलक प्रतियोगितामा हाफ म्याराथनको उपाधि टंक पुनले जिते। उनले १ घन्टा ९ दशमलव ४९ सेकन्डमा दौड पूरा गरे। दोस्रो भएका नेपाल आर्मीका रामजी बस्नेतले १ घन्टा १० दशमलव २८ सेकेन्डको टाइमिङ निकाले। यस्तै तेस्रो भएका आर्मीकै टीकाराज कटवालले दौड १ घन्टा १० दशमलव ३१ सेकेन्डमा पूरा गरे। हाफ म्याराथनका विजेताले ५० हजार उपविजेताले ३५ र तेस्रो हुनेले २५ हजार रुपियाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा ७ विदेशीसहित ५५ जनाको सहभागिता रहेको इभेन्ट म्यानेजर रिकी योञ्जनले जानकारी दिए। दुई–दुई जना चिनियाँ र बेलायती धावकका साथै स्पेन, इटाली र जमैकाका एक–एक जनाले प्रतियोगितामा भाग लिएका थिए।
शान्तिका दूत बुद्धको जन्मस्थलमा आयोजना गरिएको पिस म्याराथनले नेपालमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै खेल पर्यटनको सम्भावनाको नयाँ आयाम थपिएको एड्भेन्चर स्पोर्ट्स नेपालका निर्देशक शिखर पाण्डेले बताए। ‘बुद्ध जन्मस्थलमा आयोजना गरिएको म्याराथन भएकाले यसले विशिष्ट किसिमको महत्त्व बोकेको छ। हामी यसलाई बृहत् बनाउने योजना गर्दै छौं, उनले थपे– ‘बुद्धको जन्मस्थल नेपाललाई चिनाउनका लागि पिस म्याराथन एउटा महत्त्वपूर्ण इभेन्ट बन्छ भन्ने हाम्रो विश्वास छ।

बुद्धको पाइला पछ्याउँदै नारा दिइएको प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिइने प्रतियोगिताका परिकल्पनाकार विक्रम पाँडेले बताए। ‘बुद्धको दरबारदेखि जन्मस्थलसम्मको क्षेत्रभित्र अवस्थित क्रकुचन्दमुनि बुद्ध र कनकमुनि बुद्धको मातृभूमि समेटी आयोजना गरिएको दौड विश्वमै पहिलो हो, यस्ता खाले आध्यात्मिक खेल दौडलाई निरन्तरता दिँदै धार्मिक पर्यटनमा टेवा पुर्याउने हाम्रो चाहना छ –पाँडेले भने।

सन् २०१२ बाट शुरू गरिएको प्रतियोगितामा ओलम्पिक स्टान्डर्डको ४२ दशमलव १९५ किलोमिटरको दौड गरिएको पहिलो हो। सन् २०१३ मा आयोजित पिस म्याराथनमा दोहनीदेखि लुम्बिनी बगैंचासम्मको दूरी तय गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्