इलाका प्रशासन कार्यालय कर्मचारीविहीन



वीरबहादुर बम, मुगु
मीण क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्न सजिलो होस् भनेर गत भदौमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय ३ महिनादेखि कर्मचारीविहीन हुन पुगेको छ।

जिल्लाको उत्तरी क्षेत्र सोरु भेगका सात गाविसलाई लक्ष्ँित गरी सोरुकोटमा भदौमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा रहेका कर्मचारी पुस लाग्नेबित्तिकै हिँडेपछि कार्यालय सुनसान बनेको हो। विक्रम संवत् २०७३ साल भदौमा इलाका कार्यालयको सरकारका पर्यटनमन्त्री जीवन शाहीले उद्घाटन गर्न पुग्दा सोरु भेगका जनता अब आफ्नै गाउँमा सहज रूपले नागरिकता, सिफारिसलगायतका थुप्रै सरकारी सेवा प्राप्त हुने भन्दै खुसीले दंग परेका थिए। तर उनीहरूको हाँसो ३ महिनामै हरायो भने एउटा सिफारिस लिन फेरि सदरमुकाम पुग्न दुई दिनको पैदल बाटो पछ्याउनुपर्ने बाध्यता आइपर्यो।

‘शुरूमा के–के न सेवा सुविधा दिने भयौं भनेजस्तो गरेर मन्त्री नै ल्याएर इलाका प्रशासन कार्यालयको उद्घाटन गरे। जति बेला अब नागरिकताको सिफारिसका लागि सचिव खोज्न र नागरिकता बनाउन सदरमुकाम जान नपर्ने भयो, घरको आँगनमा नै नागरिकता पाइने भयो भन्ने ठूलो हर्ष मानेका थियौं तर अहिले ३ महिनादेखि न त कर्मचारी देखिन्छन् न त कार्यालय नै खुला हुन्छ यो त जनतालाई सरकारले सेवा विस्तारका नाममा सस्तो लोकप्रियता कमाउने मेसो मात्रै गरेको रहेछ’ –जिमा गाविस–९ का स्थानीय रूपसिंह लोहारले दुःखेसो गरे।
‘इलाका प्रशासन कार्यालय स्थापना हुँदा गाविस सचिवहरू गाउँमा नै बस्लान्, सिफारिस लिन सदरमुकाम धाउन नपर्ला र गाउँमा नै सहज रूपमा नागरिकतालगायतका सेवा प्राप्त गर्ने आशा बोकेका भए पनि अहिले विद्यालयका शिक्षक, इलाका प्रहरी चौकीका सुरक्षाकर्मीबाहेक सोरु भेगमा न त इलाका प्रशासन कार्यालयका कर्मचारी छन् न त गाविस सचिवहरू नै, धेरै दुःखलाग्दो विषय छ’ –सोरुकोटका अर्का स्थानीयबासी पदमबहादुर शाहीले भने।

भदौमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयका लागि कार्यालय प्रमुख एक, सुब्बा दुई, सह लेखापाल एक र दुई जना कार्यालय सहयोगी गरेर पाँच जनाको दरबन्दी भए पनि अहिले इलाका कर्मचारीविहीन छ तर जिल्ला प्रशासन कार्यालयले कार्यालयमा दुई जना कार्यालय सहयोगी बसिरहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीका अनुसार इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख पाल्पामा काज सरुवा भई गएका, दुई जना सुब्बामध्ये एक जना केही महिना पहिले कार्यक्षेत्रमा जाँदै गर्दा बाटोमा लडेर घाइते भएपछि उपचार गराउन काठमाडौं गएका र उतै काजमा बसेका छन्। एक जना सुब्बा तथा सहलेखापाल जिल्लामा नै काजमा बसेका छन्। पुसबाटै नभएर इलाका प्रशासन कार्यालय पुस १४ गतेबाट मात्र रिक्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी केसीले बताए।

प्रतिक्रिया दिनुहोस्