साविक विजेताको विजयी शुरुआत



कुमार श्रेष्ठ, बाँके

नेपालगन्जमा शुरु भएको दोस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम–११ ले विजयी शुरुआत गरेको छ। सुदूरपश्चिमले भारतको दिल्ली युनाइटेडलाई १–० गोलले पराजित गरेको हो।

पहिलोपटक विदेशी खेलाडी उतारेको सुदूरपश्चिमले २२औं मिनेटमा अग्रता लिएको थियो। विदेशी खेलाडी एरोनले गरेको गोल नै निर्णायक भएको थियो। जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको छ। सुदूरपश्चिमको फरवार्ड लाइनमा तालमेल नमिल्दा थप गोल हुन सकेको थिएन। दिल्लीले गोल गर्ने अवसर नै पाउन सकेन। खेलमा कार्डको वर्षा नै भयो। दुवैतर्फ गरी ७ वटा पहेंलो कार्ड देखाइएको थियो। सुदूरपश्चिमका ५ र दिल्लीका २ जनाले पहेंलो कार्ड पाएका थिए।

सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले पहिलोपटक उतारेको विदेशी खेलाडीसँग तालमेल हुन नसक्दा धेरै गोल हुन नसकेको बताउनुभयो। ‘हाम्रो फरवार्डलाइनमा अलि तालमेल मिलेन, दिल्लीको रक्षापंक्ति पनि बलियो थियो’, प्रशिक्षक चन्दले भन्नुभयो– आगामी दिनमा तालमेल मिलाउँछौं।’ उहाँले खेलाडीहरूले सोचेजस्तो राम्रो खेल्न नसकेको बताउनुभयो। क्याप्टेन प्रणय अञ्जानले विदेशी खेलाडीसँग मिलेर खेल्दा हल्का नर्मस भएको बताउनुभयो। ५ लाख पुरस्कारको नेपालगन्ज गोल्डकपको उद्घाटन एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्