दीपक श्रेष्ठ निर्विरोध निर्वाचित



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको शुक्रबार भएको चौथो साधारण सभा एवम् निर्वाचनबाट अध्यक्ष पदमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

यसअघिको दीपक विष्ट अध्यक्ष्यताको कार्य समितिमा श्रेष्ठ महासचिव पदमा रहेका थिए। श्रेष्ठ करातेका साग स्वर्णधारी खेलाडी हुनुका साथै हाल प्रशिक्षकमा व्यस्त रहेका छन्। त्यस्तै हिजै निर्वाचनबाट अन्य पदमा पनि निर्विरोध निर्वाचन भएका हुन्। जसमध्ये उपाध्यक्षमा पाँच सदस्य निर्वाचित हुनेमा केदारेश्वरमान स्थापित, पूर्वबक्सर दीपक महर्जन, पूर्वफुटबलर हरि खड्का, धाविका कान्छिमाया कोजु र दीपक थापा रहेका छन्। यस्तै महासचिवमा टेबलटेनिसका शिवसुन्दर गोथे, उपमहासचिवमा मन्डेकाजी श्रेष्ठ र सचिवमा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारी रहेका छन्। कोषाध्यक्षमा उसुका आङबाबु लामाले निरन्तरता पाएका छन्।

संघका सदस्यहरुमा धेरै जसो नयाँ तथा चर्चित खेलाडीले वर्चस्व बनाएका छन्। जसमा हालै अन्तर्राष्ट्रिय प्रतियोगितामा सानदार खेल देखाइरहेका चार महिला खेलाडी पनि समावेश छन्। रियो ओलम्पिकअन्तर्गत तेक्वान्दोमा सानदार खेल देखाएका निशा रावल, सोही ओलम्पिकमा साहसिक प्रदर्शन गरेकी फुपु ल्हामु खत्री, टेबलटेनिसकी प्रसिद्ध खेलाडी नवीता श्रेष्ठ र सुटिङकी फुलमाया क्याप्छाकी सदस्य पदमा निर्वाचत भएका छन्। अन्यमा पुरुषको राष्ट्रिय पौडीमा कयौ कीर्तिमान रचेका शिरिष गुरुङ, टिकाराम श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, सरोज श्रेष्ठ, दिनेश श्रेष्ठ, भोला सिलवाल रहेका छन्।

यसैबीच नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षको रूपमा दुई कार्यकाल सफलतापूर्वक सम्हालेका निवर्तमान अध्यक्ष दीपक विष्टलाई उनको कार्यकालमा गरिएको कामको उच्च मूल्याङकन गर्दै संघको मानार्थ अध्यक्षमा चयन गरिएको छ। निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्ट्रिय खेलकुद परिषद् संघ संस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेतले पद तथा गोपनियताको सपथ गराएका थिए। २७ सदस्यीय कार्य समितिमा अब दुई उपाध्यक्ष र पाँच सदस्य नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।

निर्वाचन पश्चात अध्यक्ष श्रेष्ठले खेलाडी संघ सदा खेलाडीहरुको हकहितका लागि डटेर लागि परेको भन्दै आगामी दिनमा खेलाडीहरुका लागि अझ सशक्त रूपमा आवाज उठाउने बताए। यसअघि साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गरेका थिए।

राई र पण्डित सम्मानित

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेसनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६ अवार्ड विजेता अल्ट्रा धाविका मिरा राई र सातै महादेशको सर्वोच्च शिखर आरोहण गर्न सफल संजय पण्डितलाई सम्मान गरेको थियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले मिरालाई नगद १० हजारसहित प्रशंसापत्र र पण्डितलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्