विदेशबाट सहयोग पाएपछि फुटबल खेलमैदान स्तरोन्नती सुरु



नेपाल समाचारपत्र, लमजुङ । लमजुङको पर्यटकीय गाउँ खुदी– ३ ढगैँ स्थित फुटबल खेलमैदान स्तरोन्नती सुरु गरिएको छ । रोजगारीको सिलसिलामा विदेश रहनुभएका स्थानीयले एक लाख रुपैया सहयोग पठाएपछि खेलमैदानको स्तरोन्नती थालिएको उक्त गाउँमा रहेको मनास्लु युवा क्लवका अध्यक्ष रवीन्द्र गुरुङले बताउनुभयो ।

उहाँका अनुसार विदेशबाट पठाएको रकमबाट खेलमैदानको छेउको पूरै भागमा तार जाली लगाउने र गोलपोष्ट पनि फलामे पाइपको राख्ने तयारी भइरहेको छ । यसबर्ष आयोजना गरिने मेला पूर्व नै फुटबल खेल मैदानको स्रोन्नति गरिने छ । यसअघि काठ वा बाँसको खाँबो गाढेर किप्पर बनाई खेल खेलाइने गरिएकोमा यसपटक फलामको खाँबो बनाइने र छेउछाउमा पनि फलामको जाली लगाइने भएको अध्यक्ष गुरुङको भनाई छ ।

ढगैँ गाउँ भई हाल साउदी अरबमा रोजगारमा रहेका युवाहरूले रकम संकलन गरी क्लवका सदस्य अनिलकुमार गुरूङको नाममा उक्त रकम पठाएका हुन् । त्यस बाहेक सो निर्माण कार्यमा क्लवका सबै सदस्यले श्रमदान गरि गिट्टी फुटाउने, पोल गाड्न खाल्डो खन्ने, पाल गाड्ने जस्ता काम गरिएको छ ।

खेलकुद मैदान स्तोन्नतीका लागि उनीहरूले २ हजार ६ सय ५० देखि ८ हजार २ सय ६० सम्म सहयोग गरी एक लाख पठाएको अध्यक्ष गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार खुदी– ३ ढँगैका लोकबहादुर वि.क.ले ८ हजार २ सय ६०, फूलबहादुर गुरूङले ७ हजार ५ सय, आइतसिंह गुरुङले ७ हजार २ सय ५०, नाथुराम गुरूङले ७ हजार ८३, वीरबहादुर गुरूङले ७ हजार ८२, कुम्बसिंह गुरूङ, मनप्रसाद गुरूङ र सुरेश गुरूङले ७/७ हजार रुपैयाका दरले, गोपाल गुरूङ र बेलराम गुरूङ र खिमबहादुर गुरूङले जनही ६ हजार ९ सय ५० रुपैयाका दरले, सिंहबहादुर गुरूङले ६ हजार ८ सय ५०, सुराज वि.क. ले ५ हजार ४ सय ४०, हितबहादुर गुरूङले २ हजार ६ सय ५० र सहयोग गरेका हुन् ।

आर्थिक सहयोग गर्ने व्यक्तित्वहरूले गरेको सहयोगको उच्च कदर गर्दै सम्मानको लागि खेलमैदान निर्माणको कार्य सम्पन्न भएपछि १५औँ सुकमान स्मृति रनिङ कपको उद्घाटन कार्यक्रममा दाताहरूलाई सम्मान गरिने क्लवका वरिष्ठ सदस्य अनिल कुमार गुरूङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्