लिग कपको उपाधि युनाइटेडलाई



लन्डन, (एजेन्सी)
ग्ल्यान्डको प्रतिस्थित घरेलु फुटबल प्रतियोगिता इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ।
प्रतियोगिताअन्तर्गत आइतबार राति लन्डनको वेम्बली रंगशालामा भएको फाइनल खेलमा साउथह्याम्पटनलाई ३–२ ले हराउँदै म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो उपाधि सुरक्षित गरेको हो। म्यान्चेस्टर युनाइटेडलाई जित दिलाउन लाटन इब्राहिमोभिचले दुई तथा जेस्सी लिंगार्डले एक गोलको योगदान गरेका थिए।

खेलको १९औं मिनेटमा इब्राहिमोभिचले करिब २८ यार्डबाट फ्रिकिकमार्फत् गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। लिंगार्डले ३८औं मिनेटमा अग्रता दोब्बर पारे। तर पहिलो हाफमा थपिएको इन्ज्युरी समयको पहिलो मिनेटमै साउथह्याम्प्टनका मानोलो गाब्बियाडिनीले गोल गरेपछि मध्यान्तरसम्म खेलस्थिति २–१ भएको थियो।

यस्तै दोस्रो हाफ शुरू भएको तेस्रो मिनेटमै मानोलो गाब्बियाडिनीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल रोमाञ्चक स्थितिमा पुगेको थियो। तर खेलको नियमित समय सकिनु तीन मिनेटअघि एन्डर हरेराको पासमा इब्राहिमोभिचले गोल गर्दै म्यानचेस्टरलाई उपाधि दिलाए। पोर्चुगिज प्रशिक्षक जोजे माउरिन्होको प्रशिक्षणमा सुधारिएको प्रदर्शन गर्दै म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो उपाधि चुमेको हो।

३५ वर्षीय स्वीडिस स्टार र माउरिन्हो अहिले म्यानचेस्टर युनाइटेड सफलताको केन्द्रमा छन्। माउरिन्होले नै ढल्कँदो उमेरको इब्राहिमोभिचमाथि विश्वास गरेर पीएसजीबाट ओल्ड ट्राफोर्ड ल्याएका हुन्। माउरीन्होका लागि यो चौथो लिग कपको उपाधि हो। उनले यसअघि सन् २००५, २००९ र २०१५ मा चेल्सीलाई लिग कपको उपाधि दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्