परीक्षा शुरु हुने बेलासम्म पनि पुस्तक पुगेन



वीरबहादुर बम, मुगु
ल्लाको अधिकांश निम्न माध्यमिक र माध्यमिक विद्यालयका विद्यार्थीको हातमा अझै पुस्तक पुगेको छैन। जिल्ला शिक्षा कार्यालयबाट प्रत्येक वर्ष पाठय्पुस्तकका लागि सबै तहको विद्यार्थी अनुपातमा अनुदान जाने भए पनि दुर्गमका विद्यार्थीले वर्षेनी पाठ्यपुस्तकको समस्या भोग्नुपरेको छ।

सदरमुकामस्थित महाकाली माध्यमिक विद्यालयमा समेत ऐच्छिक प्रथम र द्धितीय विषयका पाठ्यपुस्तकबिनै पुराना पुस्तकको भरमा कक्षा सञ्चालन भएको प्राचार्य देवबहादुर मल्ल बताउँछन्। कक्षा ९ को पाठ्यपुस्तक शैक्षिक सत्र २०७३ बाट परिवर्तन भएकाले विषयवस्तु नयाँ राखिएकाले नयाँ पाठ्यपुस्तक नआइसकेको अवस्थामा र शिक्षक निर्देशिका पनि नबनेको हुँदा शिक्षकलाई कक्षा सिजनमा विषयवस्तुका बारेमा प्रयाप्त जानकारी दिन समस्या भएको कुरा बुद्ध माविका शिक्षक गंगाराम बिसी बताउँछन्।

जिल्लाका माध्यमिक विद्यालय कालै, पुरुमुरु, श्रीनगर, ह्यागलु ,खमालेलगायतका अधिकांश माविमा सबै विषयको पाठ्यपुस्तक नपुगी केही नयाँ विषय त केही पुराना विषय मिलाएर कक्षा सञ्चालन भएको एसएलसी आउन लाग्दा गाइड पढेर परीक्षाको तयारीमा रहेको कुरा विजय माविका कक्षा १० का विद्यार्थी अंगनाथ योगी बताउँछन्।

नयाँ पुस्तक नपुगे पनि जिल्ला शिक्षा कार्यालय मुगुले चैत्रको १३ गतेबाट कक्षा १ देखि ९ सम्मको परीक्षाको तालिका सार्वजनिक गरेको छ। जिल्लाका १३ हजार विद्यार्थी परीक्षामा सामेल हुनेछन्।

समयमै दुर्गममा पुस्तक पुर्याउने सरकारको नीति भए पनि जनक शिक्षा सामाग्री केन्द्रको ढिलो छपाइ र पुस्तक बिक्रेता कम्पनीको वितरक केन्द्रमा ढिलो पुर्याउने प्रचलन त्यसमा पनि आधा मात्र पुस्तक पुर्याउनुले विद्यार्थीको हातमा पुस्तक पुग्न समस्या हुने गरेको छ। पुस्तक पुगेमा पढाउँला भन्दै शिक्षकले समेत कक्षा सञ्चालनमा ढिलाइ गर्ने गर्छन् पुस्तककै समस्याले समयमै कोर्षको अध्ययनसमेत पूरा हुँदैन।

जिल्लामा समयमै पुस्तक पुर्याउने सम्झौतामा ३ पुस्तक बिक्रीकेन्द्र छन्। यस वर्ष पहिलोपटक अपुग पुस्तक पुगेको र दोस्रोपटक मंसिर महिनामा पुस्तक पुगेपछि जानकारी गराउँदा पनि जिल्लाका धेरै विद्यालयले पुस्तक खरिद नगरेको जय लक्ष्मी पुस्तक भन्डारका सञ्चालक लक्ष्मी भाम बताउँछन्।

पुस्तक खरिदका लागि विद्यालयमा लाखौं रुपियाँ जाने भए पनि पुस्तक नपुगेको भन्दै विद्यालयले अन्य शीर्षकमा रकम खर्चिने गरेका छन्। जिल्लामा उच्च भेगका विद्यालयमा वैशाख महिनाबाट शैक्षिक सत्र शुरु हुने भए पनि भर्ना अवधिभरमा पुस्तक नपाएर ४ ,५ महिनापछि मात्र पूरा सेट पुस्तक पुग्ने समस्या रहेको छ । ‘जिल्लामा हवाइ र सडक यातायातको राम्रो व्यवस्था भइसक्दा पनि पुस्तकको समस्या भने ज्युँकात्युँ छ’ अभिभावकको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्