प्याराफिट बनाउन ३५ करोड बजेट



धन बस्नेत, पोखरा

खरा रंगशालाको फुटबल मैदानसहित प्याराफिट निर्माण गर्ने योजना छ। साग फुटबल पोखरामा गर्ने लक्ष्यसहित खेलकुद मन्त्रालयले मैदानसहित प्याराफिट निर्माण गर्न ३५ करोड बजेट छुटइएको छ। यद्यपि पहिलो काम भने डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट)को बनाउने जिम्मा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई दिइएको छ।

‘आइतबारदेखि डीपीआर बनाउने काम थाल्नेछौं, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने– ‘काठमाडौंकै कम्पनीले गर्नेछन्। राष्ट्रिय खेलकुद परिषद्ले नै खटाउनेछ। डीपीआर जतिसक्यो छिटो बनाई मन्त्रालयमा पेस गरेर साग फुटबलसम्म प्याराफिट निर्माण गर्ने योजना रहेको अध्यक्ष पौडेलले स्पष्ट पारे।
डीपीआरका लागि १५ लाख छुटइइएको छ। तर समितिलाई मन्त्रालयले एक करोड उपलब्ध गराइदिएको छ। डीपीआरबाट बचत रकम निर्माणाधीन भलिबल प्रशिक्षण केन्द्रमा खर्च गरिने उनले सुनाए। ‘आएको बजेट डीपीआरसँगै भलिबल प्रशिक्षण केन्द्रको अधुरो काम पूरा गर्नेछौं, उनले भने– ‘यसै आर्थिक वर्षदेखि नै निर्माण शुरु गर्नेछौं। स्टेडियम स्ट्रक्चर इन्जिनियर र माटो परीक्षण गर्न छुट्टाछुट्टै संस्थालाई दिइने उनले बताए। मन्त्रालयले साग खेलकुद प्रतियोगिताअन्तर्गतको बजेट पोखरालाई उपलब्ध गराउने प्रतिबद्धता गरेको हो।

गत बुधबार पोखरा रंगशालास्थित क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयमा बसेको बैठकले पोखरामा भौतिक पूर्वाधार निर्माण गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन्। बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलगायतको उपस्थिति थियो। महिला साग फुटबल, भलिबल, आर्चरीलगायतका विभिन्न खेल पोखरामा गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता हुदाँ तयार पारेको भौतिक पूर्वाधार अहिले जीर्ण छन्। ०४५ र ०७२ सालको भूकम्पले ती पूर्वाधारलाई कमजोर बनाएको छ। फुटबल मैदान पूर्वमा दर्शक प्यारापिट र पश्चिममा भीआईपी प्यारापिट छन्। ती पूर्वाधारलाई स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितालाई लक्षित गरी यथास्थितिमा राख्दै बाँकी क्षेत्रमा प्यारापिट निर्माण गरिनेछ।

‘अहिले पुराना संरचना भत्काइँदैन। नयाँ संरचना निर्माण गर्दै गएपछि आवश्यकताअनुसार भत्काइन्छ, क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले भने– ‘प्यारापिटले फुटबल मैदान घेरिनेछ। झन्डै २५ देखि ३० हजार दर्शक अटाउने क्षमताको प्यारापिट निर्माण हुने उनको भनाइ थियो। अहिले भइरहेको सर्वसाधारण प्यारापिटमा चार हजार दर्शक अटाउँछन्।

पोखरामा विशेष गरी सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने पोखरा कपको फाइनलमा दर्शकको चाप हुने गर्छ। फाइनलमा झन्डै १५ हजार दर्शक उपस्थिति हुने गरेको तथ्यांकसमेत छ। उपस्थित दर्शक चौरमा बसेर फुटबलको मनोरञ्जन लिने गरेका छन्। केही दिनअघि मात्रै पोखरामा सम्पन्न भएको आमन्त्रण भलिबल प्रतियोगितामा फाइनलमा मात्रै सात लाख रुपियाँ बराबरको टिकट विक्री भएको थियो। यसले पोखरालाई स्पोर्टस टुरिज्मको रुपमा विकास गर्ने टेवा पुर्याउनेछ। पोखरामा अन्तर्राष्ट्रियस्तरको प्याराफिट निर्माण भए मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरु खेलाउने सकिने फुटबलका अग्रजहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्