शिवरामले अन्तिममा बाजी मारे



नेपाल समाचारपत्र
काठमाडौं
स्रो चरणसम्म ९ स्ट्रोकले पछि परेका नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले अन्तिम दिन उत्कृष्ट पुनरागमन गरेर उपधि जितेका छन्।

सूर्य नेपाल सेन्ट्रल ओपनअन्तर्गत शिवरामले बिहीबार ३ अन्डर ६९ स्कोर गरेर कुल ४ अन्डर २८४ स्कोरसहित उपाधि हात पारेका हुन्। गोकर्ण गल्फ क्लबमा उपाधि जितेलगतै उनले आफ्नो करिअरमा ३४औं उपाधि संख्या पनि पुर्याएका छन्। साथै यस सिजनको यो उनको चौथो उपाधिसमेत हो। ५४ होलसम्म सानदार खेल देखाएर उपाधि जित्नै तरखर गरेका एमेच्योर खेलाडी तेन्जिङ छिरिङले दोस्रो स्थानमै चित्त बुझाउनुपर्यो। उनले हिजो खराब खेल देखाउनाले पनि जितिसकेको उपाधि शिवरामले छिनेका हुन्। छिरिङले ७ ओभर ७९ स्कोर गरेपछि तीन अन्डर २८५ स्कोरसहित दोस्रो स्थानमा रहे। १६ वर्षीय युवा गल्फर एक स्ट्रोकले च्याम्पियन बन्न चुके।

शिवरामले पहिलो पुरस्कार १ लाख १० हजार नगद प्राप्त गर्दा छिरिङले ७० हजार नगद हासिल गरेका छन्। त्यस्तै रवि खड्का र भुवन नगरकोटी एक ओभर २८९ स्कोरसहित संयुक्त रूपमा तेस्रो स्थानमा रहे। दुवैले जनही ४५ हजार नगद प्राप्त गरेका छन्। च्याम्पियन शिवरामका भाइ जयराम श्रेष्ठले पाँचौं स्थानमा रहेर ३५ हजार रुपियाँ हासिल गरे।

प्रतिक्रिया दिनुहोस्