युभेन्ट्सद्वारा पोर्टो पराजित



लन्डन, (एजेन्सी)
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज क्लब एफसी पोर्टोलाई पराजित गरेको छ।
युभेन्टस्ले पोर्टोलाई उसकै घरेलु मैदानमा २–० ले पराजित गरेको हो। दुई चर्चित तथा विश्वकप विजेता टोलीका गोलरक्षकहरू इकेर कासिलास र बुफोन प्रमुख आकर्षण बनेको उक्त खेलमा बुफोनले बाजी मार्न सफल भए।
पहिलो हाफ गोलविहीन बनेको उक्त खेलमा दुई मिनेटको अन्तरमा दुई गोल भएको थियो। खेलको ७२औं र ७४औं मिनेटमा जाका र ड्यानी आल्भेसले एक–एक गोलको योगदान गरेपछि युभेन्टसले जितको नतिजा निकाल्यो। यसअघि पहिलो हाफको २७औं मिनेटमा ब्राजिलियन एलेक्सले रातो कार्ड बेहोर्दै मैदान बाहिरिएपछि पोर्टो दबाबमा आएको थियो।

च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनिस टोली सेभियाले इंग्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीलाई २–१ ले हराएको छ। घरेलु मैदानमा सेभियाका लागि पार्लो साराबियाले खेलको २५औं मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै खेलको ६२औं मिनेटमा कार्लोस कोरियाले गोल गर्दे सेभियाको गोलसंख्या दुई पुर्याए। यता खेलको ७३औं मिनेटमा जेमी भार्डीले एक अवे गोल फर्काए पनि टोलीको हार टार्न पर्याप्त बनेन। गत सिजन गोलमेसिनको उपमा पाएका उनको यो नौ खेलपछिको पहिलो गोल हो। गत डिसेम्बरमा म्यानचेस्टर सिटीविरुद्ध ह्याट्रिक गरेपछि भार्डीले गोलको तृष्णा मेटाउन सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्